भरतपुर समाचारदाता
चितवन, जेठ २७ गते । प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्ट) जनस्वास्थ्यको विश्वव्यापी समस्या रहेको विज्ञहरूले औँल्याएका छन्। युएसएआइडीको आयोजनामा शुक्रबार चितवनको भरतपुरमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तर्क्रियामा युएसएआइडीका वरिष्ठ मेडिकल कन्सल्टेन्ट डा. सन्तोष दुलालले पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) विश्वव्यापी स्वास्थ्य समस्या मात्र नभएर साइलेन्ट महामारीकै रूपमा रहेको बताउनुभयो।
कायक्रममा कार्यपत्र प्रस्तुत गर्र्दै डा. दुलालले विश्वभर प्रतिवर्ष एएमआरकै कारण ५० देखि ६० लाख मानिसको मृत्यु हुने गरेको र १० खर्ब अमेरिकी डलरबराबरको आर्थिक नोक्सानी हुने जानकारी दिनुभयो। उहाँले एन्टिबायोटिक्सको आविष्कारपछि उपचारमा नयाँ आयाम सुरु भए पनि पछिल्ला वर्षहहरूमा यसको प्रयोगमा हुने गरेको लापरबाहीले मानिसको ज्यानै जाने गरेको अनुसन्धानले पुष्टि गरिसकेको बताउनुभयो। पछिल्ला दिनमा बढ्दो गलत प्रयोगले एन्टिबायोटिक्सको प्रभावकारिता घट्दै गएको उहाँले बताउनुभयो।
चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक्सको प्रयोग नगर्न, आवश्यक परे किन यो औषधि खाने भनेर जानकारी लिन, बिचैमा नछोड्न वा सिफारिसभन्दा बढी मात्रा प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो।कार्यक्रममा एएमआरले लैङ्गिक क्षेत्रमा पारेको प्रभावबारे डा. विविका श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। महिलालाई एन्टिबायोटिक्सको प्रयोग अनिवार्य जस्तै रहेको चर्चा गर्दै उहाँले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक्स प्रयोग नगर्न सुझाव दिनुभयो।