मुकुन्द सुवेदी
बर्दिया, जेठ २६ गते । बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा महाआरती हुने भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको ठाकुरबाबा मन्दिरमा आजबाट हरेक शुक्रबार सन्ध्या महाआरती हुने भएको हो ।
नाट्टा बाँके च्याप्टर, नेपालगञ्जको आयोजना, ठाकुरबाबा मन्दिर व्यवस्थापन तथा विकास समितिको सहकार्य र ठाकुरबाबा नगरपालिका प्रवर्द्धक रहने गरी महा आरती आजबाट सुरु हुन लागेको हो ।
ठाकुरबाबा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रवर्द्धन विकास टेवा पुग्ने उद्देश्यका साथ नगरपालिकाले महाआरती सुरुवात गर्न लागेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । धार्मिक उद्देश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्त्वपूर्ण हुने नगर प्रमुख लम्सालको भनाइ छ
पश्चिम क्षेत्रकै महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको ठाकुरबाबा मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै निकुञ्ज क्षेत्रका स्थानीयहरू खुसी छन्। स्थानीय होटल सञ्चालक रामजी थापाले महाआरतीले आफूहरूको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताउनुभयो ।
हरेक शुक्रबार बेलुका सन्ध्या महाआरती हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहभागिताका लागि नगरप्रमुख लम्सालले अनुरोध गर्नुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                