• ८ वैशाख २०८१, शनिबार

सडक बचाउन र खर्च कम गर्न तीन महिना सडक खन्न रोकेका हौँ : विभाग

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २६ गते । सडक विभागले असार १ गतेदेखि भदौ मसान्त सम्म सडकहरू खन्न प्रतिबन्ध लगाएको छ । वर्षायाममा ढल, बिजुली, धारा, टेलिफोन आदी प्रयोजनका लागि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्नका लागि प्रतिबन्ध लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ । 

कार्यालयका सुपरिटेण्डि इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार वर्षा याममा सडक खन्दा हिलाम्मे हुने र तत्काल पिच गर्न पनि समस्या हुने भएकाले वर्षयाममा सडक खन्न बन्द गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाममा नयाँ सडक खन्दा सडक चाँडै बिग्रने र हिलाम्मे हुने भएकाले यात्रा गर्न झन् कष्टकर हुने गर्दछ । पिच गर्न पनि समस्या हुने भएकाले वर्षा याममा सडक खन्न प्रतिबन्ध लगाएका हौँ ।” वर्षादमा सडक खनिँदा क्षति हुने र निर्माण गर्दा गुणस्तर नहुने विभागको भनाई छ । 

ग्रामीण भेगमा नयाँ सडक खन्दा पहिरो जाने समस्या भएकाले पनि वर्षाको समयमा बर्सेनि सडक खन्नका लागि निषेध गरिँदै आइएको उहाँले बताउनुभयो । जुनसुकै प्रयोजनका लागि बाटो खन्ने काम गर्न पूर्ण रूपमा रोक लगाइएको  उहाँ बताउनुहुन्छ । 

के हुन्छ विद्युतीय तार अण्डरग्राउण्डको काम ?

काठमाडौं उपत्यकामा अहिले विद्युतीय तार तथा इन्टरनेटका तारहरू अण्डरग्राण्डको काम भइरहेको छ । विद्युत प्राधिकरणले विद्युतीय तारहरू अण्डरग्राउण्ड गर्ने काम धमाधम गरिरहेको छ । अर्यालका अनुसार विद्युतका तार भूमिगत गर्ने प्रयोजनका लागि ज्येष्ठ मसान्तसम्म नै सक्नका लागि आग्रह गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, विद्युतका तार, खानेपानीको पाइप, इन्टरनेटका तारहरू भूमिगत गर्नका लागि ज्येष्ठ भित्र सक्ने गरी सम्झौता भएको छ । सो समयमा उहाँहरूले सक्नुहुन्छ । नयाँ सडक खन्नका लागि कसैलाई छुट् हुनेछैन । यता विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार विद्युतीय तारहरू भूमिगत गर्नको लागि निश्चित समयसम्म सम्झौता भएकाले सो समयसम्म काम सक्ने लक्ष्य रहेको छ । 

उहाँले भन्नुभयो, “विद्युतका तार भूमिगत गर्नको लागि निश्चित समय तोकेर सम्झौता भएको छ । सो तोकिएको सम्झौताअनुसार सक्ने योजनाका साथ काम भइरहेको छ । असारबाट काम रोक्ने सडक विभागको सूचना हामीले पनि पालना गर्नुपर्दछ , गर्छौँ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।