• १२ वैशाख २०८१, बुधबार

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिको व्यवहारिक प्रयोग

blog

तस्बिर : छलफलमा सहभागी वालिङका जनप्रतिनिधिहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २५ गते । स्याङ्जाको वालिङ नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण सम्बन्धी नीतिको व्यवहारिक प्रयोग गर्न सुरु गरेको छ । पालिकाले नगरका १४ वटै वडामा महिला उपभोक्ता समिति निर्माण गरी महिलाहरूलाई सक्रिय बनाउने तथा पछाडि परेको समूह र समुदायलाई पहुँचमा लैजाने गरी काम सुरु गरेको हो । 

नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण २०७८ सम्बन्धी नीति यस अगाडि नै बनाएको छ । 

लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण मूल प्रवाहीकरणको अभ्यास, उपलब्धि चुनौती तथा समाधान सम्बन्धी छलफल कार्यक्रम बोल्दै नगर प्रमुख कृष्ण खाँणले आगामी नीति तथा कार्यक्रम र बजेटमा उनीहरूलाई पहिलो प्राथमिकता दिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामीले बनाएको नीतिलाई व्यवहारिक प्रयोग गर्न सुरु गरेका छौँ ।”

कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिपप्रताप खाणले बजेट निर्माण तथा कार्यान्वयनका लागी निश्चित लक्ष्य र उद्देश्यका साथ अगाडि बढेमा सफलता सहजै प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय तहको बजेट तथा कार्यक्रममा लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरणको भइरहेका अभ्यास, कार्यान्वयनको पक्ष लगायतका विषयमा जनप्रतिनिधिहरू बीच छलफल गरिएको छ । 

महिला र पुरुषबीच विभेद यथावत् रहेको भन्दै राज्यले लक्षित वर्गलाई जति बजेट विनियोजन गर्नुपर्ने हो त्यति नभएको उपप्रमुख कविता तिवारीले बताउनुभयो । लक्षित वर्गको लागी ल्याइएको बजेट उनीहरूको हितका लागी मात्रै प्रयोग हुनु पर्नेमा उहाँको जोड छ ।

स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरूलाई कार्यबोधप्रति उत्तरदायी बनाउन यस्ता खालका कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको भनाइ छ । 

दलित महिला केन्द्रको समन्वय वालिङ नगरपालिका, सिडिडब्ल्युएनको आयोजना र स्थानीय सरकार सबलीकरण अष्टेलियन एड, द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।