गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २५ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक गरिरहेको बताउनुभएको छ । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट रूपमा अघि बढाउन नसक्दाको परिणाम केही पपुलिष्टहरु राजनीतिक विकल्पको रूपमा आउन खोजिरहेको उहाँको भनाइ छ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिष्टहरु राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न र समाजका समस्यालाई समाधान गर्न नसक्ने दाबी गर्नुभयो । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा अघि बढाउन सकिन्छ भन्ने मान्यता अनुचित रहेको उहाँको ठम्याइ छ ।
उहाँले भन्नुभयो, ‘नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन् । न उनीहरूको समस्या समाधान गर्न व्यवस्थित कुनै सोचहरू रहेका छन् । उनीहरू समाजलाई नीतिगत रूपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अघि बढ्न खोजिरहेका छन् ।’ विशुद्ध रूपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरेर हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको उहाँको भनाइ छ ।
नयाँको नाममा गरिने राजनीति व्यापारिक पुँजीवादलाई पोषण गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । दलाल नोकरशाही पुँजीवादलाई पोषण गर्ने काम भइरहेको छ । “समाजलाई परिवर्तनको दिशातर्फ, समृद्ध समाजतर्फ अगाडि बढाउने हो भने हामीले कुन नीतिका आधारमा समाजलाई त्यो बाटोमा अघि बढाउने भन्ने प्रश्नका सन्दर्भ बारेमा नीतिगत बहस गर्नै पर्छ” उहाँले भन्नुभयो, “पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशा विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम हो ।”
उहाँले भन्नुभयो, ‘पछिल्लो समय जनतामा जुन प्रकारका असन्तुष्टि र निराशा देखापरेका छन्, पपुलिष्टहरुले कहिले पनि समाजका समस्यालाई समाधान गर्न सक्दैनन् । समाज परिवर्तनको आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सक्दैनन् ।’
समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्नेबित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा लग्न सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत मान्यता हो उहाँले भन्नुभयो । राजनीति आफैँमा एउटा विज्ञान भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “राजनीति गर्न चाहनेहरू राजनीतिक विज्ञान अन्तर्गत राजनीतिक सङ्घर्षको माध्यमबाट आफूलाई स्थापित गर्न सक्नुपर्छ । त्यो सङ्घर्षको प्रक्रियाबाट गुज्रन तयार हुनुपर्छ ।”
नीतिगत मान्यताका आधारमा स्पष्ट लक्ष्य र उद्देश्यका साथ गरिने कामहरूले मात्रै समाजलाई सही प्रकारको बाटो देखाउन सक्दने उहाँले बताउनुभयो । महासचिव पोखरेलले नेपाली राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बताउनु भयो । साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति विहीनतातिर लैजाने गरेको उहाँले आरोप लगाउनुभयो । यस्ता गतिविधिलाई अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उहाँको भनाइ छ । राजनीतिलाई विकृत बनाउन साना दलहरूले खेलिरहेको भूमिकाबाट राजनीतिलाई जोगाउन काँग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद् निर्माण भएको उहाँको बुझाइ छ ।
उहाँले भन्नुभयो, ‘अब हामीले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्छ । राजनीतिक दलहरूका बीचमा नीतिगत प्रतिस्पर्धाको आवश्यकता पर्दछ भन्ने कुराको सच्चाइलाई आत्मसाथ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । “गएको चुनावको समयमा पनि हामीले नेपाली कांग्रेसलाई भनेका थियौँ, साना पार्टीहरूले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रूपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीतिबिहीनतातिर लैजाने जुन प्रकारको भूमिका खेलिरहेका छन्, यसलाई बदल्न काँग्रेस पनि एक्लै चुनाव लड्ने सङ्कल्प गर्नुपर्छ ।
“नेकपा (एमाले) एक्लै चुनाव लड्न तयार छ । त्यसअर्थमा एउटा चुनाव हामी एक्लाएक्लै लडेर नेपालका साना दलहरूले नेपालको राजनीतिलाई विकृत बनाउन जुन प्रकारको भूमिका खेलिरहेका छन्, त्यसबाट नेपालको राजनीतिलाई जोगाउनुपर्छ ।” महासचिव पोखरेलले निर्वाचनलाई राजनीतिक परिवर्तनको रूपमा प्रयोग गर्न नसकिएकोप्रति दुःख व्यक्त गर्नुभयो । समाजको आवश्यकता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरुको राजनीति उदाएको नेता पोखरेलले टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक क्रान्तिको अपूर्णतालाई सम्बोधन गर्ने माध्यमका रूपमा हामीले आवधिक रूपमा सम्पन्न हुने चुनावलाई लिनुपर्दछ । त्यसअर्थमा चुनाव हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण विषय हो ।’
महासचिव पोखरेलले व्यापारिक पुँजीवादमा आश्रित बन्न पुगेको नेपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले उत्पादक शक्तिको पाँच वटा पक्षहरूमा विशेष जोड दिन आवश्यक रहेको चर्चा गर्नुभयो । बदलिएको उत्पादनलाई सम्बन्ध, बजारको माग र जनशक्ति निर्माण गर्ने हिसाबका आधारमा शिक्षा व्यवस्थामा परिवर्तन गर्न नसकेसम्म राष्ट्र अगाडी बढ्न नसक्ने उहाँले बताउनुभयो । समाजलाई विकसित बनाउन शिक्षा व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जबसम्म हामीले बदलिएको उत्पादन सम्बन्धका आधारमा, बजारको डिमान्डका आधारमा जनशक्ति निर्माण गर्ने हिसाबले शिक्षा व्यवस्थामा परिवर्तन गर्न सक्दैनौँ तबसम्म राष्ट्र अघि बढ्न सक्दैन ।’ हाम्रो शिक्षा व्यवस्था परम्परागत भएकाले समस्या भइरहेको उहाँको भनाइ छ । नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न नसकेको उहाँले चर्चा गर्नुभयो ।
स्वस्थ नागरिक निर्माण, स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभूति पाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले शारीरिक र मानसिक रूपमा सबल नागरिकहरूको निर्माण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वस्थ नागरिक निर्माण । स्वास्थ्य पूर्वाधारको उपलब्धता । नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभूति पाउनुपर्छ । शारीरिक र मानसिक रूपमा सबल नागरिकहरूको निर्माण गर्ने कुरा सामाजिक परिवर्तनका सन्दर्भमा अपरिहार्य विषय हो ।’