• १२ मंसिर २०८१, बुधबार

वीर अस्पतालकी जोशी 'नाईटेङ्गल नर्सिङ अवार्ड-२०२३' बाट सम्मानित

blog

काठमाडौं, जेठ २४ गते । “नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ । 

जोशीले नेपालको नर्सिङ पेसामा गर्नुभएको योगदानको मूल्याङ्कन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रूपमा उहाँलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरेको हो । 

मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताउनुभयो । 

उहाँ विगत २९ वर्षदेखि नर्सिङ पेसामा कार्यरत हुनुहुन्छ । १० जना मनोनीत नर्सहरूमध्ये उहाँलाई अवार्ड प्रदान गरिएको थियो । 

फ्लोरेन्स नाइटिङ्गेलको नामबाट अन्तर्राष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरूलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बिरामीको सेवामा लाग्ने नर्सहरूलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन मूलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गर्नुभयो । 

यसैगरी कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले नर्सहरूको सम्मानमा सञ्चालन गरिएको अवार्ड कार्यक्रमले धेरै नर्सहरूलाई आफ्नो पेसामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गर्नुभयो । 

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ । 

हाल हेल्थ एट होममार्फत करिब एक लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीन वटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।