• १९ असार २०८१, बुधबार

गर्मीमा नियमित भएन विद्युत्

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ २४ गते । अत्यधिक गर्मीले छटपटी भइरहेका बेला विद्युत् अनियमित भइदिँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतका सेवाग्राही मारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने गाउँका बासिन्दाले विद्युत् नियमित नहुँदा गर्मीले थप छटपटीमा परेको गुनासो गरेका हुन्। हुलाकी सडकमा पर्ने बिजुलीको खम्बा सार्न भन्दै मलङ्गवादेखि पूर्वी भेगमा सोमबार दिनभर बत्ती काटियो। 

चर्को घाम र तापक्रम अत्यधिक बढेर खप्नै नसक्ने गरी गर्मी भइरहेका बेला यसरी दिनभर बत्ती काटिँदा पङ्खाधरी चलाउन नपाएर अत्यधिक गर्मी सहनु परेको हरिपुर्वा नगरपालिकाका मुकेश झाले बताउनुभयो। मौसमविद्ले तराई क्षेत्रमा केही दिन तातो हावा चलेर ‘लु’ जोखिम रहेकाले सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेका बेला बिजुलीको खम्बा सार्ने बहानामा दिनभर बत्ती काटिएको भन्दै स्थानीयवासीले आक्रोश  व्यक्त गरेका छन्। 

स्थानीयवासी झाले आफूहरूको क्षेत्रमा अन्य बेला पनि बत्ती अनियमित हुने गरेको गुनासो गर्नुभयो। जिल्लाका ग्रामीण क्षेत्रमा यसरी लामो समय बिजुली काटिँदा स्थानीय विद्युतीय उपकरण सञ्चालन गर्नबाट वञ्चित हुँदै आएका छन्। रातको समयमा त झन् बढी विद्युत् अनियमित हुने गरेको गुनासो स्थानीयवासीको छ। सुक्खा बढ्दा चापाकल बारम्बार सुक्ने गरेको र बत्ती नै नभएपछि मोटर चलाउन नपाएको गुनासो उहाँहरूको छ। 

उहाँले धेरै गाउँमा ट्रान्सफर्मरको क्षमता कम रहेको र सेवाग्राही भने धेरै रहेकाले कहिलेकाहीँ लोड थेग्न नसकेर आफैँ बत्ती कट्ने गरेको बताउनुभयो। मलङ्गवादेखि पूर्वतर्फ हरिपुर्वामा र पश्चिमतर्फ गडहिया डुमरियामा विद्युत् सबस्टेसन निर्माण गर्न चार वर्षदेखि प्रयास गरे पनि स्थानीयवासीबाटै पोल गाड्न अवरोध हुँदा समस्या भइरहेको वितरण केन्द्रका प्रमुख यादवको भनाइ छ।

जनजीवन प्रभावित  

यसैबिच पर्सा समाचारदाताका अनुसार मध्य तराईका जिल्लामा केही दिनयता तापक्रम ह्वातै बढेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ। बिहानदेखि अपराह्नसम्म सामान्यतः ४० देखि ४५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने गरेपछि सहरी क्षेत्रमा चहलपहल पातलिएको छ। दिउँसोभरि सडक बजार र सरकारी कार्यालय सुनसान हुने गरेको छ। 

अत्यधिक गर्मीले बालबालिका बेहोस हुने तथा पठनपाठन प्रभावित भएपछि जिल्लाभित्रका १४ वटा पालिका र एक गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गरेका छन्। 

गर्मीको प्रभाव स्वास्थ्यमा पनि पर्ने गरेकाले चिकित्सकहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्। नारायणी अस्पतालका वरिष्ठ चिकित्सक मुकेश अग्रवालले तापक्रम बढ्दै जाँदा शरीरलाई समेत असर पर्ने भएकाले स्वास्थ्यलाई ख्याल गर्न आग्रह गर्दै गर्मी हुँदा स्वास्थ्य असहज हुने, थकाइ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, बान्ता आउने भएकाले सर्वसाधारणलाई सचेत रहन र चिकित्सकको सल्लाह लिनुपर्ने बताउनुभयो।