• ४ जेठ २०८१, शुक्रबार

भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), जेठ २४ गते । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । 

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ । 

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ । शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीको स्रोतका रूपमा लिने गरेका हौँ ।” 

उहाँले अघिल्ला वर्षहरूमा ८ देखि १० लाख रुपियाँसम्म आम्दानी हुने गरेकोमा यसपालि तीन लाख रुपियाँमा ठेक्का लगाएको छौँ भन्दै पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरूको अभाव हुन थालेपछि रकम पनि घटेको बताउनुभयो ।

कठिन भिरपहरामा भिरमाहुरीको सिकार गरेर सङ्कलन गरिएको मह बेचेर  गाउँका युवाले राम्रो आम्दानी गर्ने गरेको स्थानीय युवा अङ्कित पुनले बताउनुभयो । उहाँका अनुसार भिरमह प्रतिलिटर दुई हजार रुपियाँमा बिक्री  हुने गरेको छ । भिरपहराबाट महको सिकार गर्नु निकै साहसिलो काम मानिन्छ । अचेल  नयाँ पुस्ताले चासो नदिएपछि यो परम्परा हराउँदै गएको छ । पाका पुस्ताबाट केही युवाले भिरमहको सिकार गर्ने सिप सिकेकाले अहिले पनि गाउँघरमा मह सिकार गर्ने प्रचलन जीवित रहेको वडा सदस्य छन्त्यालले बताउनुभयो । 

पुख्र्यौली पेसालाई निरन्तरता दिनुका साथै भिरमह बिक्री  गरेर आम्दानी पनि हुने भएकाले विगत केही वर्षदेखि मह सिकार गर्दै आएको स्थानीय चित्र छन्त्यालले बताउनुभयो । चित्रसहित गाउँका निरप्रसाद छन्त्याल र टेकबहादुर विकले दुई वर्षका लागि वडाबाट भिरमहको सिकार गर्न ठेक्कामा लिनुभएको छ । 

“भिरमहको सिकार गर्ने काम अत्यन्तै जोखिमपूर्ण हुन्छ,” निरप्रसादले भन्नुभयो, “ज्यान हत्केलामा राखेर मह सिकार गर्नुपर्दछ, कतिबेला के हुन्छ थाहा हुँदैन ।’’ अग्ला भिरमा डोरीमा झुन्डिएर मह काड्ने गरिन्छ । यो अति नै जोखिमपूर्ण काम हो । म्याग्दीमा पुख्र्यौली पेसाका रूपमा जिल्लाको दुर्गम गुर्जा, मल्कबाङ, लुलाङ, निस्कोट, कुइने मङ्गले, चिमोला, शिख, हिस्तानलगायतका जङ्गलमा भिरमाहुरीको मह सिकार गर्ने प्रचलन छ ।  वैशाखको अन्तिमदेखि असारसम्म एक महिना मह सिकार गर्ने गरिन्छ ।