• १५ वैशाख २०८१, शनिबार

खानेपानी योजना कार्यान्वयन गर्न सम्झौता

blog

मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा कार्यान्वयन हुने वृहत खानेपानी योजना सम्झौता गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा खानेपानी योजना कार्यान्वयन गर्न भर्खरै मात्र योजनाको सम्झौता गरिएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित थुम्माखोला–रोटिपोले वृहत् खानेपानी आयोजनाको सम्झौता गरिएको हो । 

उक्त योजना वृहत् खानेपानी योजना निर्माण उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरबीच सम्झौता भएको हो । मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीको समन्वय तथा पहलमा योजनाको मङ्गलबार सम्झौता गरिएको हो । 

गाउँपालिका अध्यक्ष कार्की स्वयम्को उपस्थितिमा डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख देवनाथ यादव र उपभोक्ता समिति अध्यक्ष मकन लिम्बु तथा सचिव रिमोस लिम्बुले सम्झौता गर्नुभएको छ । 

चालु आर्थिक वर्ष समाप्त हुने बेलामा २० लाख रुपियाँ बजेट रहेको सो खानेपानी योजनाको सम्झौता गरिएको हो । अन्तिम समयमा सम्झौता गरिएको भएपनि चालु आवका लागि विनियोजन भएको बजेट बराबरको कार्य असार दोस्रो साताभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइने पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार क्रमागत योजनाका रूपमा रहेको वृहत् खानेपानी योजनाको सम्झौता भएको बजेटले खानेपानी इन्टेक निर्माण, पाइप विस्तार लगायतका कार्य गरिने छ । यता योजनाको सम्झौता भएपछि मात्र कार्यान्वयन अर्थात् काम गर्ने बाटो खुलेको निर्माण उपभोक्ता समितिका अध्यक्ष मकन लिम्बुको भनाइ छ । आर्थिक वर्ष सकिनलाई थोरै मात्र समय रहेकाले बिहीबारदेखि नै पर्याप्त जनशक्तिसहित कामलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो ।