• १२ असार २०८१, बुधबार

तोकिएको समयमा संसद् बैठक सुरु नहुँदा निराश हुँदै फर्किए विद्यार्थी

blog

प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी निराश हुँदै फर्किए । तस्बिर : रासस

काठमाडौं, जेठ २३ गते । “लाष्टै दुःख लाइराछ...’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो ।

राष्ट्रिय सभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधि सभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।

उनीहरू कौतुहलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसदमा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् ।

संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ ।

उनीहरू आफूले जुन उद्देश्यले आएको हो सो उद्देश्य पूरा नभएको त्यसै फर्कनु परेकोमा जवाफ दिए । राससको जिज्ञासामा कक्षा १० की समृद्धि तिमिल्सनाले ठुला–ठुला नेताहरू बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरूले नसोचेको प्रतिक्रिया दिनुभयो ।

विद्यार्थी विश्व न्यौपानेले आफूहरूले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । केहीबेर बैठक बस्ने सूचना त किन फर्कँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “विद्यार्थी जीवनमा समयको महत्त्व हुन्छ । हामीलाई विद्यालयले संसदमा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौँ ।’’

विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरूको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाउनुभयो ।

विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयका शिक्षक सरिता दाहाल सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएको बताउनुभयो । अर्को कुनै दिन आउनुहुन्छ कि भन्ने जिज्ञासामा उहाँको जवाफ थियो, “अब हेरौँ के हुन्छ ।”

संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरू बैठक बस्छ कि भनेर अझै कुरिरहेको जनाउनुभयो । उक्त विद्यालयबाट ५९ जना विद्यार्थी आएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझदारीका कारण  सुरु हुन ढिलाइ भएको हो ।

सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनाका साथै संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको हो । रासस