चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २ गते । शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो ।
शिक्षक सेवा आयोग उत्तीर्ण गरी स्थायी नियुक्तीका लागि ताप्लेजुङमा सिफारिस भएर आएका पाँच जना शिक्षकलाई स्थानीय तह रोज्नलाई समय दिइएको निमित्त एकाइ प्रमुख रामनारायण चौधरीले जानकारी दिनु भयो । चौधरीका अनुसार पुस ६ गते आइतबार सम्मका लागि आफू जान चाहेको स्थानीय तह रोज्न शिक्षकलाई समय दिइएको हो ।
ताप्लेजुङका लागि सिफारिस हुनेमा पाँचै जना माध्यमिक तहको गणित विषयका शिक्षक रहनु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका निमित्त एकाइ प्रमुख चौधरीका अनुसार शिक्षकले रोज्नुपर्ने स्थानीय तहहरूमा जिल्लाको सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, मैवाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका र फुङ्लिङ नगरपालिका रहेको छ ।
उक्त स्थानीय तहहरूमा एक–एक वटा दरबन्दी कायम हुनेगरी शिक्षक खटाउन लागिएको र सोही अनुसार शिक्षकहरूलाई इच्छाएको स्थानीय तह रोज्ने गरी समय उपलब्ध गराएको एकाइले जनाएको छ । शिक्षकले रोजे अनुसार मिलाएर सम्बन्धित स्थानीय तहमा पदस्थापन गरिने पनि एकाइले जनाएको छ । एकाइका अनुसार आफूले रोजेका स्थानीय तहमा जानका लागि शिक्षकले निवेदन दिनु पर्ने छ ।