• १५ वैशाख २०८१, शनिबार

बगर खेतीबाट मनग्गे आम्दानी

blog

बगरमा खरभुजा खेती

कोकिला भण्डारी  

धनकुटा, जेठ २३ गते । धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर नदीको किनारमा थुप्रिएको बालुवामा तरकारी खेती गरी मनग्गे आम्दानी भएको छ । तर धनकुटामा पहिलो पटक तमोर नदीको किनारमा गरिएको बगर खेतीमा एउटै खरभुजा १४ केजीसम्मको उत्पादन भएको हो ।

कसैले कल्पना नगरेको तमोर नदीको बगरमा यसै वर्षदेखि सुरु गरिएको बगर खेतीले राम्रो आम्दानी दिएपछि किसानहरू उत्साहित बन्नुभएको छ । सिप र जागर भए जीवन गुजारा गर्न बिदेसिनु पर्दैन भन्ने दरिलो उदाहरण बनेका छन् धनकुटाका किसान । 

पूर्व जनप्रतिनिधि सुदामा बरालको अगुवाइमा तमोर नदीको किनारमा थुप्रिएको बालुवामा पाँच जनाको समूह मिलेर धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ कुरुले डिटारमा बालुवामा तरकारी खेती गरिएको छ । यसले बालुवामा खेती अभियानमा संलग्न बाहेकका स्थानीय किसानहरू पनि खुसी बन्नुभएको छ ।

पहिलो वर्षमै उत्पादन राम्रो रहेकोले आफैले बाह्र सय केजी बिक्री गरेर मनग्गे आम्दानी लिन पाउँदा खुसी लागेको स्थानीय कान्ति खनाल बताउनुहुन्छ । पहिलो वर्षमै सोचेभन्दा राम्रोसँग खरभुजा उत्पादन भइरहेको छ । तर, विक्रीका लागि यातायात, बाटोघाटोका कारण बजार टाढा रहेकाले बजारको समस्या हुने गरेको बालुवामा खेती अभियानका मुख्य अभियन्ता तथा तमोर भ्याली कृषक समूहका अध्यक्ष सुदामा बराल गुनासो गर्नुहुन्छ ।  

विगतमा बालुवै बालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । यसमा गाउँपालिकाको पनि निक्कै महत्त्वपूर्ण भूमिका रहेको छ । खेर गएको बालुवामा उक्त जमिनको सदुपयोग गरी बढी भन्दा बढी रोजगार सृजना गर्न युवा लक्षित कार्यक्रम नै राखेर रगुवा खोलादेखि नुवाखोला सम्मको बगरमा बालुवा मात्र रहेको क्षेत्रमा नमुनाका रूपमा खेती सुरु गरेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बु बताउनुहुन्छ । 

धनकुटा हुँदै बगेका तमोर र अरुण नदीको किनार आसपासका हजारौँ रोपनी क्षेत्रमा बालुवा मात्रै थुप्रिएको छ । यस्ता बगरहरूमा यसरी नै तरकारी खेती गर्न सके किसानलाई पनि आत्मनिर्भर बनाउन सकिन्छ ।