लन्डन, असोज २ गते । शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दा एजेन्डामा छन् ।
बुधबार विन्डसर क्यासलमा राजा चार्ल्स तृतीय र रानी क्यामिलाले ट्रम्प दम्पतीलाई सुनौलो गाडी, तोप सलामी र भव्य भोजसहित राजकीय सम्मान गर्नुभएको थियो । बेलायती अधिकारीले यो भ्रमणलाई ‘अभूतपूर्व’ भन्दै अमेरिकी राष्ट्रपतिको दोस्रो राजकीय भ्रमणका रूपमा विशेष गौरवका साथ मनाए ।
अब ट्रम्पलाई १६औँ शताब्दीको ऐतिहासिक चेकर्स म्यानर हाउसमा स्टार्मरले स्वागत गर्नुहुनेछ । यहाँ पूर्ण औपचारिक गार्ड, स्कटिश परम्परागत ब्यागपाइपर र चर्चिलसँग सम्बन्धित अभिलेख प्रदर्शन गरिनेछ । भोजमा डोभर सोल, लाइम पाई र प्यारासुट टोलीको प्रस्तुति रहनेछ ।
-प्राविधिक साझेदारी सम्झौता-
दुई नेताले ‘प्राविधिक समृद्धि सम्झौता’मा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यस अन्तर्गत एआई, क्वान्टम कम्प्युटिङ र आणविक उर्जामा रोजगारी र लगानी बढ्नेछ । अमेरिकी कम्पनीले ३१ अर्ब पाउन्ड (४२ अर्ब डलर) को लगानी गर्ने घोषणा गरिसकेका छन्, जसमा माइक्रोसफ्टबाट मात्र ३० अर्ब डलरको सुरक्षा सुपर कम्प्युटर परियोजना छ ।
तर डिजिटल सेवा कर र इन्टरनेट नियमनबारे सम्झौता अझै अस्पष्ट छ । मे महिनामा दुवै नेताले अटो र एयरोस्पेस क्षेत्रमा भन्सार शुल्क कम गर्ने व्यापार सम्झौता गर्नुभएको थियो । तर इस्पात-एल्युमिनियममा २५ प्रतिशत भन्सार शुल्क शून्यमा झर्ने वाचा अझै पूरा भएको छैन ।
-राजनीतिक चुनौती-
स्टार्मरका लागि यो भ्रमण घरेलु राजनीतिक सङ्कटबिच आएको हो । उपप्रधानमन्त्री एन्जेला रेनरले कर विवादमा राजीनामा दिनुभएको छ भने सरकार सुस्त अर्थतन्त्रका कारण दबाबमा छ । विश्लेषकले यो भ्रमण ट्रम्पभन्दा स्टार्मरका लागि कठिन हुने बताएका छन् । एपस्टिन प्रकरणसम्बन्धी प्रश्न पनि सम्भावित चुनौती मानिएको छ । केही दिनअघि मात्र राजदूत पिटर म्यान्डल्सनलाई एपस्टिनसँगको सम्बन्धका कारण पदबाट हटाइएको थियो ।
-युक्रेन र मध्यपूर्वमा मतभेद-
युक्रेनबारे ट्रम्प र स्टार्मरबिच असहज छलफल हुने देखिन्छ । स्टार्मरले युरोपेली सहयोग बढाउन जोड दिँदा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई सम्झौता गर्नुपर्ने बताउनुभएको छ र रुसमाथि नयाँ प्रतिबन्ध लगाउन अनिच्छुक देखिनुभएको छ । पोल्यान्डमा रूसी ड्रोन आक्रमणलाई उहाँले ‘गल्ती हुन सक्छ’ भन्दै कम आँक्ने टिप्पणी गर्नुभएको थियो ।
गाजामा इजरायलको युद्धमा पनि फरक दृष्टिकोण छ । स्टार्मरले बेलायत यस महिनाको अन्त्यसम्म प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गर्नुभएको छ भने ट्रम्पले यसै प्रकारका कदम चालेकालाई अघिल्लो पटक व्यापारमा दण्डित गर्ने चेतावनी दिनुभएको थियो । शाही स्वागतले सुरु भएको यो भ्रमण अन्ततः कठिन वार्ता र संवेदनशील विषयमा नेताहरूको मतभेदले चिह्नित हुने देखिएको छ । रासस/एपी