• १३ मंसिर २०८१, बिहिबार

फस्टाउन सकेन माछापालन व्यवसाय

blog

देब इवाहाङ्गको माछा पोखरीमा माछा मार्दै एक स्थानीय कृषक । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, जेठ २२ गते । धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ । तर प्राविधिक ज्ञानको अभावका कारण किसानहरू व्यावसायिक हुन सकेका छैनन् ।

धनकुटामा माछाको बजार र व्यावसायिक सम्भावना प्रशस्त भए पनि माछापालन व्यवसाय फस्टाउन सकेको छैन । प्राविधिक ज्ञानको अभाव, भारतीय माछाको उपलब्धता, सिँचाइ सुविधाको अभाव तथा वित्तीय संस्थाले लगानीमा चासो नराख्दा किसान माछापालनमा व्यावसायिक बन्न नसकेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको बुझाइ छ । 

माछासम्बन्धी कार्यक्रमको माग निकै कम हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले बताउनुभयो । “माछाका कार्यक्रम त हामी बर्सेनि राख्छौँ तर कृषकको खास आकर्षण छैन माग नै आउँदैन” ढुङ्गानाले भन्नुभयो । 

धनकुटामा २०६७–६८ सालबाट माछापालनको व्यावसायिक सुरुवात भएको कृषकको भनाइ छ । जिल्लामा अहिलेसम्म करिब १३ हेक्टर क्षेत्रफलबाट २३ मेट्रिक टन माछा उत्पादन हुदैआएको छ । यसले जिल्लाको करिब १५ प्रतिशत माग मात्र धान्नेगरेको छ । जिल्लाको लेउती, बाख्रे तथा पात्ले खोला आसपासका विभिन्न स्थानमा व्यावसायिक रूपमा माछा उत्पादन हुनेगरेको छ । 

धनकुटाको उच्च क्षेत्रमा असला, सहर, तथा तल्लो क्षेत्रमा मुङ्ग्री, रौँ, कमनकार्प ग्रासकार्प लगायतका माछाको व्यावसायिक खेती हुन्छ । पहाडी क्षेत्रमा उत्पादन गरिएको माछा  स्वादिलो हुने तथा आयातित माछाभन्दा ताजा हुने भएकाले स्थानीय क्षेत्रमै उत्पादन गरिएको माछाको माग बढी छ । 

जिल्लामा उत्पादन भएको माछालाई बजारको कुनै समस्या नरहेको र माग धान्नै मुस्किल रहेको धनकुटाका कृषक कुमार श्रेष्ठले बताउनुभयो । “हामीले माग धान्नै सकेका छैनौँ, माछा मार्ने थाहा पाउनासाथ पोखरीमै माछा लिन ग्राहक आइपुग्छन्” उहाँले भन्नुभयो ।

माछापालन गर्न आर्थिक रूपमा समस्या समेत हुनेगरेको कृषकको गुनासो छ । बैङ्क तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा थारै ब्याजमा लगानी गर्ने गरेको सुने पनि यस क्षेत्रमा लगानीमा चासो नदिएका कारण माछापालन व्यवसायमा समस्या रहेको माछापालक कृषकको गुनासो छ ।