• ६ वैशाख २०८१, बिहिबार

वातावरणमैत्री घरमा रमाउँदै दम्पती

blog

बर्दिबास –१४ स्थित एक प्रेरक र उदाहरणीय वातावरणमैत्री घर । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ २२ गते । बढ्दो जनघनत्व र फैलँदो सहरीकरणले मौलिकता गुमाउँदै गएको सहरोन्मुख बर्दिबासको एउटा घर अहिले चर्चा र आकर्षणको केन्द्र बनेको छ ।

करिब डेढ कट्ठा क्षेत्रफलमा फैलिएको यो घर आफैमा हरित उद्यान पनि हो । 

सुन्दर, सफा र स्निग्ध घरको आँगन अनेकन् फल र ढकमक्क फूलका बिरुवाले सजिएको छ । दुई तले घरको बार्दली र कौसीमै विभिन्न प्रजातिका १३६ प्रकारका बिरुवा लगाइएका छन् । सबैभन्दा माथिल्लो छतका दुई कुनामा फूल खेल्न थालेका ड्रागन फ्रुटका लहरा र लटरम्म खुर्सानीले यो घरप्रति थप उत्सुकता जगाउँछ । 

भुईतलाको आँगनमा लगाइएका तीन प्रजातिका आँपका बोटमा लटरम्म फल लागेका छन् । अमला, केरा, मेवाजस्ता फल र सयौँ थरिका फूल तथा डेरी र सिजियम प्रजातिका बिरुवाले घरलाई हरित उद्यानमा परिणत गरेको छ । 

हराउँदै गएका पुराना शैलीका घर र बढदैगएका कङ्क्रिटका जंगलवीच बर्दिबास –१४ मा रहेको यो हरित उद्यानका रचयिता ६० वर्षीय घरमूली भरत हमाल र उहाँकी जीवनसंगिनी राधिका हमाल हुनुहुन्छ । पूर्व वडाध्यक्षसमेत रहनुभएका हमालको यो प्रकृतिप्रेम विलक्षण र प्रेरक छ । 

अरू मानिस नयाँ ठाउँमा जाँदा कोसेली र चिनोको रूपमा कपडा, मिठाई, गहना, शृङ्गारका सामान ल्याउँछन् । हमाल दम्पती भने जहाँ जान्छन् एउटा नयाँ प्रजातिका बिरुवा ल्याएर घर आँगनमा सजाउने गर्नुहुन्छ । 

‘यहाँ देखिएका बोटबिरुवा रैथाने त छँदैछन्, इँटहरिदेखि पथलैयासम्म र भारतको दार्जिलिङ, बाबाधाम, पटना र दिल्लीका पनि छन्’ हमालले भन्नुभयो, ‘एउटा बिरुवालाई दुई सयदेखि ८ हजार रुपियाँसम्म परेका छन् ।’

‘सबै बिरुवाको नाम त हामी नै जान्दैनौँ’ हमालले हाँस्दै भन्नुभयो, ‘मनीप्लान्ट नै दश थरीका छन् । सात थरीका गोदावरी, तीन प्रकारका क्याक्टस, वेगनवेली, डच रोज, लोलिना, मुसुन्डा, साइकस, बेली, चमेली, इन्द्रकमल, सुन कागती, सबैको नाम त म पनि जान्दिन ।’

अनगिनत बिरुवा भए पनि यसको व्यवस्थापन, रेखदेख र स्याहार सम्भार आफैमा प्रेरक छ । यो सुन्दर कुटीमा अहिले हमाल दम्पती बस्नुहुन्छ । दुवैको जीवनशैली पनि वातावरणमैत्री छ । 

‘यी बोट बिरुवाका कारणले आफ्नो घरप्रति आफैलाई गर्व लाग्छ’ राधिकाले अनुभव सुनाउनुभयो, ‘आत्मसन्तुष्टि पनि मिल्दो रहेछ समय कटेको थाहै हुँदैन ।’ महोत्तरीमा सञ्चालित लिरिक परियोजनाका वातावरण अभियन्ता विराट पन्थकाअनुसार पर्यावरणमैत्री घर आफैमा प्रेरक, उदाहरणीय र अनुकरणीय संरचना हो ।