• १६ चैत २०८०, शुक्रबार

वृक्षारोपण गरी वातावरण दिवस मनाइयो

blog

सार्क महासचिवको धर्मपत्नी कृशान्ति विराकुनलाई सम्मान गर्नुहुदै नगरप्रमुख हरिप्रसाद मण्डल ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी,  जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रहेको तस्मैया बाबा पार्कमा वृक्षारोपण गरी दिवस मनाइएको छ । नेपाल–भारत महिलामैत्री समाजको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चन्दा चौधरी, सार्क महासचिवको धर्मपत्नी कृशान्ति विराकुन, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, सशस्त्र प्रहरी परिवार महिला सङ्घका केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्याल, महोत्तरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी नायब महानिरीक्षक बाहिनिपति दीपेन्द्र साह, नेपाली सेना रणभीम गणका गणपति उत्तम कटवाल, नेपाल प्रहरी उपरीक्षक प्रकाश मल्ल, सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनाल, नेपाल भारत महिलामैत्री समाजको उपाध्यक्ष राधा कायस्थ लगायतको उपस्थिति रहेको थियो । 

जिल्लाको प्रसिद्धस्थलको रूपमा रहेको मटिहानीको तस्मैया बाबा पार्कमा समाजले धार्मिक महत्त्वका विभिन्न जातका १०८ बिरुवा रोपिएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नेपाल–भारतमैत्री समाजले मटिहानीमा आएर वृक्षारोपण गर्नुभएकोमा धन्यवाद दिनुहुँदै टोलीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो । 

टोलीका पदाधिकारीले प्रसिद्ध लक्ष्मीनारायण मठको अवलोकनका साथसाथै लक्ष्मीनारायणको पूजाअर्चना तथा लक्ष्मीसागरमा आरती समेत गर्नुभएको थियो । मटिहानी नगरप्रमुख मण्डलले त्रेताकालमा राम र सीताको विवाहको लागि बेदी बनाउन मटिहानीबाटै माटो खनिएको र यहाँ करिब साढे तीनसय वर्षपूर्व तस्मैया बाबा तपस्वीले बनाएको स्थान नेपालकै महत्त्वपूर्ण धार्मिकस्थलको पहिचान बनाएकाले यहाँ पर्यटकहरू आउनु सराहनीय रहेको बताउनुभयो । 

उहाँले तस्मैया बाबाले नै निर्माण गराउनुभएको राजकीय संस्कृत विद्यालय नेपालकै जेठो विद्यालयमा पर्ने गरेको बत्ताउनुहुँदै तस्मैया बाबाको नाममा रहेको पार्कको संरक्षण र संवर्द्धन गर्न सबैको सामूहिक पहलको खाँचो रहेको बताउनुभयो ।