• १२ वैशाख २०८१, बुधबार

पहिचान खोज्दै ताङ्वे

blog

मुस्ताङको छुक्साङतिर बाक्लो बस्ती रहेकाले यसलाई ताङ्वे गाउँ भन्ने गरिएको छ । मुस्ताङमा बाह्रगाउँले र आठगाउँले जस्ता बाक्ला बस्ती पनि छन् । ताङ्वेहरू बाह्रगाउँ क्षेत्रमा पाइने भएकाले कतिपयले यिनीहरूलाई बाह्रगाउँले पनि भन्ने गरेका थिए । कतिपयले ताङ्वेदानी पनि भन्छन् । बाह्रगाउँलेहरू थकाली हुन् तर ताङ्वे थकाली होइनन् । छुक्साङका अतिरिक्त जोमसोम, पोखरा तनहुँको डोरफिर्दीसम्म पनि ताङ्वेहरूको बस्ती भेटिएका छन् । 

रोजगारी तथा व्यापारको सिलसिलामा यिनीहरू गण्डकी, धवलागिरिलगायत अन्य जिल्लातिर पनि पुगेका छन् । ताङ्वेहरू तिब्बतबाट नेपाल आएका हुन् भनिन्छ । शारीरिक बनोट, भाषा तथा केही सांस्कृतिक विशेषताका कारण पनि यिनीहरूको मूल थलो तिब्बत हो भन्ने अनुमान गर्न गाह्रो छैन । तिब्बती भाषामा ताङको अर्थ भगौडा वा लखेटिएका र वे को अर्थ जाति भन्ने बुझिने लेखक गुरुङ रामप्रकाश समथिङले उल्लेख गरेका छन् । 

लेखकका अनुसार यिनीहरू कुनै कारणवश तिब्बतबाट भागेर वा धपाइएर नेपालको उत्तरी सीमा प्रवेश परेका हुन् । यिनीहरू जहाँ बसे त्यस क्षेत्रको नाम ताङ्वे भएको वा ताङ्वे भन्ने स्थानमा बस्न थालेपछि यिनीहरूको जातीय नाम ताङ्वे रहन पुगेको भन्नेबारेमा आधिकारिक अनुसन्धान भएको पाइँदैन तर यिनीहरू बस्न थालेपछि गाउँको नाम नै ताङ्वे गाउँ रहेको अनुमान गरिएको छ । 

ताङ्वेको सामाजिक जीवन, रहनसहन बाह्रगाउँले र ल्होपासँग मिल्ने भएकाले ताङ्वेलाई कसैले बाह्रगाउँले त कसैले ल्होपा भनेका छन् । विगतका कुनै पनि राष्ट्रिय जनगणनामा यिनीहरूको जातिगत तथ्याङ्क उल्लेख गरिएको छैन । साथै बाह्रौँ राष्ट्रिय जनगणना– २०७८ को जातिगत विवरण प्रकाशित नभएकाले यस जातिको जनसङ्ख्या यकिन गर्न सकिएको छैन । आदिवासी जनजाति प्रतिष्ठानले ताङ्वेलाई ‘सुविधा वञ्चित’ जातिको सूचीमा राखेको छ । 

सुक्खा जमिन, सीमित खेतीपातीको भरले गर्दा यिनीहरूको आर्थिक अवस्था ज्यादै कमजोर छ । जीविकोपार्जनका लागि तिब्बततिर व्यापार गर्ने गरेका छन् । आर्थिक रूपमा अति विपन्न मात्र होइनन् यिनीहरू सांस्कृतिक रूपमा पनि लोपोन्मुख अवस्थामा छन् । राजनीति तथा प्रशासनिक क्षेत्रको सहभागिता शून्य प्रायः छ । भेडा, च्याङ्ग्रा, याक, चौँरीजस्ता पशुपालन र जडीबुटीको व्यापार गरेर कष्टकर जीवन बिताउँदै आएका छन् । परम्परागत जडीबुटी, हिङ, पाखनबेत, शिलाजित, सियोधागो बेच्दै तिब्बतलगायत स्वदेशका विभिन्न जिल्लामा यिनीहरू पुग्ने गरेका देखिन्छ । 

चिसो क्षेत्रमा बसेका यिनीहरू आफैँले बनाएका ऊनी लुगा, बख्खु, स्विटर, जुत्ता, भोटो लगाउने गर्छन् । महिलाले जामा, बख्खु, पटुका, घलेक लगाउने गर्छन् तर पछिल्ला पुस्ताको पहिरन संस्कृतिमा जातीय मौलिक विशेषताभन्दा आधुनिकता झल्कन्छ । ताङ्वेमा पुरुषले पनि कपाल पाल्ने र रातो डोरी बाँध्ने प्रचलन छ । 

फापर, कोदो, गहुँ, जौ, आलु खेती गर्ने यिनीहरूलाई आफ्नो उत्पादनले तीन–चार महिना पनि खान नपुग्ने बताइन्छ । पछिल्ला दिन ताङ्वे युवा रोजगारीका लागि स्वदेश तथा विदेशका विभिन्न स्थानमा जाने गरेकाले समुदायमा आर्थिक तथा सांस्कृतिक परिवर्तनका लक्षण देखिएका छन् । सामाजिक तथा सांस्कृतिक रूपमा एक्लिएका ताङ्वेहरू व्यापार तथा रोजगारीका कारण मुलुकको मूल सामाजिक अन्तक्र्रियामा जोडिँदै छन् । 

रक्सी र जाँड खानुलाई सामान्य मानिन्छ । जाँड (छ्याङ), रक्सी सांस्कृतिक पेय मात्र नभएर खाजाकै रूपमा पनि खाइन्छ । अतिथि सत्कारमा छ्याङ र मसला हालेको परम्परागत (भोटे) चिया दिने गरिन्छ । 

पुसे औँसीको भोलिपल्ट ताङ्वेको 

नयाँ वर्ष हुन्छ, जसलाई ल्होसार भनिन्छ । स्याल, सिंह, बाघ, वर्ष वा वर्ग वर्षको गणना गरिन्छ । बौद्धमार्गी यिनीहरूले वैशाखे पूर्णिमाका दिनलाई पनि विशेष रूपमा मनाउँछन् । यस दिनलाई घच्याङ वा घाच्याङ भनिन्छ । यस दिन मनोरञ्जन तथा प्रतियोगितात्मक रूपमा तीर हान्ने गरिन्छ । 

यिनीहरू मूलतः संयुक्त परिवारमा बस्छन् ।  बाबु वा जेठो छोरो घरको मूली तथा निर्णायक हुन्छ तर हाल यस्तो परम्परा विघटित हुँदै छ ।  यिनीहरूमा माइलो छोरो भिक्षु हुुनुपर्ने कठोर प्रचलन थियो, हाल पनि यस्तो चलन त छ तर क्रमशः नरम हुँदै छ । मामाचेला फुपूचेलीमा विवाह हुने गर्छ । मागी, भागी वा प्रेम विवाह गरिन्छ । केही दशकअघिसम्म यस जातिमा बहुपति प्रथा थियो भनिन्छ । जेठो छोराले विवाह गरी ल्याएको श्रीमतीलाई सबै भाइले श्रीमती मान्नु पथ्र्यो अन्यथा गाउँ सभाबाट सजाय हुने गथ्र्यो तर बहुपति प्रथा अहिले पूर्णतः समाप्त भएको छ । 

देवर, भाउजूमा सहमतिमा विवाह भने हुने गर्छ । गाउँका झगडा, विवाह, जन्ममृत्युमा लामा÷मुखियाहरू निर्णायक हुने गर्छन् । 

संयुक्त परिवारलाई प्रश्रय दिने जातीय कानुन यस जातिमा प्रचलित छ । ताङ्वेमा छुट्टीभिन्न हुन कठोर छ । बावुआमा जीवितै रहेको अवस्थामा कुनै छोराले छुट्टिन चाह्यो भने अंश अर्थात् जमिन पाउँदैन तर खानका लागि केही अन्नपात र रकम दिने चलन छ । सबै धार्मिक कार्य बौद्ध-लामा शैलीमा गरिन्छ । 

यिनीहरू प्रकृति पूजक पनि छन् । मृत्युपछि शव गाड्ने, जलाउने वा टुक्रा पारेर गिद्ध, चिललाई खुवाउने गरिन्छ । यसको निर्णय लामाले गर्छन् । यसमा वृद्ध, वयस्क, बालबच्चा, गर्भवतीका लागि भिन्नभिन्न मापदण्ड लागू गरिन्छ । जुठो, सुत्केरोे तीन दिनसम्म बारिन्छ । नाबालकको नाम लामाले विधिपूर्वक राख्छन् । जन्म मृत्यु दुवैका लागि रक्सी, छ्याङ र उवाको सातु रोटी अनिवार्य छ । जन्ममा मासु खाइए पनि बावुको निधनमा छोराले मासु र तीन दिनसम्म नुन पनि खाँदैनन् । आमाको निधनमा दूध र मही खानु हुँदैन । 

–त्रिभुवनचन्द्र वाग्ले