पृथ्वीमा अहिले तापक्रम वृद्धिसँगै जलवायु परिवर्तन र प्राणी जगत्को अस्तित्व सङ्कटका विषयमा विभिन्न मञ्चमा व्यापक बहस भइरहेको छ, समाधानका उपायमा समेत काम भइरहेका छन् तर कुनै बेला पृथ्वी चिसिएर मानव जीवन सङ्कटमा परेको समय समेत थियो । धेरै समय भएको छैन पृथ्वीमा हिमयुग (आइस एज) सुरु भएको । पृथ्वीको इतिहासमा हिमयुग पटकपटक आएको छ र पछिल्लो हिमयुग आफ्नो उच्चतम बिन्दुमा लगभग २१ हजार वर्ष पहिले पुगेको थियो । हिमयुगको अर्थ पृथ्वीमा सबैतिर हिउँ नै हिउँ हुने होइन तर तापक्रम घटेर बढी चिसो हुने र उच्च धरातलीय तथा ध्रुवीय क्षेत्रमा हिउँको बाक्लो पत्र जम्ने हो । धेरै वर्षसम्म यो अवस्था रहन्छ ।
पछिल्लो हिमयुगमा उत्तर अमेरिका र उत्तरी युरोप तथा अफ्रिकाको किलमिन्जारो पर्वत र दक्षिण अमेरिकाको एन्डिज पूरै हिउँले ढाकिएको वैज्ञानिक अनुसन्धानले बताउँछ । त्यस अवधिमा आधुनिक मानवको पुर्खा होमो सेपियन्स अफ्रिकाको न्यानो भूमिबाट उत्तरी युरोप र युरेसियन अक्षांशमा बसाइ सरेका थिए । हिमयुगको बढ्दो चिसोले होमो सेपियन्सलाई नराम्रोसँग प्रभाव पा¥यो । ठूलो आकार, रचनात्मक दिमाग र परिष्कृत उपकरण भएका यी हाम्रा पुर्खा, जो शारीरिक रूपमा हामीसँग धेरै नै मिल्दाजुल्दा थिए, त्यस विषम अवस्थामा मात्र बाँचेनन् आफूलाई परिस्थिति अनुकूल विकास गर्नसमेत सक्षम भए ।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्यापन गरेका मानवशास्त्रका अवकाशप्राप्त प्राध्यापक ब्रायन फागनको भनाइमा पछिल्लो हिमयुगका हाम्रो पुर्खा होमो सेपियन्सलाई ठूलो दिमाग हुनुको धेरै लाभ मिल्यो । उनी भन्छन्, “होमो सेपियन्सका बारेमा एक महìवपूर्ण कुरा के छ भने उनीहरू धारा प्रवाह बोल्न सक्थे, साथै आगामी कार्यको अवधारणा र योजना बनाउने क्षमता उनीहरूमा थियो ।”
भाषा ज्ञानको प्रादुर्भाव, प्राकृतिक संसार बारेमा तथा नयाँ प्रविधिको ज्ञान होमो सेपियन्सले छिमेकमा साझा गर्न सक्थे । साथै कथाका रूपमा ती ज्ञान पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको थियो ।
होमो सेपियन्समा प्रतिकात्मक कथावाचनका माध्यमबाट संस्थागत स्मृति थियो । जसका माध्यमबाट वातावरणीय शक्तिहरूसँग उनीहरूको नाता स्थापित हुनु पुग्यो । साथै सङ्गीत, नृत्य तथा कलाका माध्यमबाट हाम्रा पुर्खाले ऋतुकाल, खानयोग्य वनस्पति, पशु प्रवासन, मौसम र अन्य धेरै पक्षका बारे ठूलो परिमाणमा सूचना सङ्कलन र सम्प्रेषण गर्न सकेका थिए ।
फ्रान्सको लासौ र चाभेट क्षेत्रका गुफामा खोजिएका सुस्पष्ट पेन्टिङले के कुरा दर्शाउँछ भने हिमयुगका मानवसँग प्राकृतिक संसारका बारेमा गहन जानकारी थियो, विशेषगरी सिकार गरिने ती जनावरका बारेमा जसमा आफ्नो जीवन निर्भर रहेको छ ।
फागनका अनुसार गुफामा रेन्डियर र बाइसनका चित्र बनाइएका छन् । उनीहरू रेडिन्यर र बाइसनको सिकार मात्र खाँदैनथे तिनका छालाबाट बनाइएका लुगासमेत लगाउँथे । रेन्डियर र बाइसनको छालाले बनाइएका लुगाले होमो सेपियन्सलाई जाडोबाट समेत बचाउँथ्यो ।
४० हजारदेखि १० हजार वर्ष अर्थात् पुरापाषाण युगमा मानवले हातहतियार र औजार निर्माणमा ठूलो फड्को मारेको थियो । सबैभन्दा पहिले त अन्य उपकरण बनाउन पहिलो औजार बनाइयो । यी सबैमा एक महìवपूर्ण औजार थियो ‘बुरन’ । यो चट्टानको सामान्य छिनो थियो, जसलाई हड्डी र सिङमा प्वाल तथा निशान बनाउन प्रयोग गरियो । हड्डी र सिङले बनाइएका असरदार भाला र बल्छी सिकारीले लामो दूरीसम्म बोक्न सक्नेसम्मका हल्का हुन्थे । तिनलाई छुट्याएर राख्न तथा आपसमा जोडेर समेत राख्न सकिने गरी बनाइएका कारण प्रथम संयोजित औजार भन्न सकिन्छ ।
त्यसकालमा सिकार गर्ने यी असरदार हतियार हुँदाहुँदै पनि नजिकैबाट सिकारमाथि आक्रमण गर्दा तिनको उपयोगिता थिएन । जस कारणले गर्दा कहिलेकाहीँ सिकारीले आफ्नो सिकारमाथि नै आफैँ हमला गर्नु पर्दथ्यो । हाम्रा पुर्खाले सिकारका क्रममा खतराको आकलन गरी बुद्धिमत्ता देखाउने तथा योजना कार्यान्वयनको खाका तयार पार्नेसम्मका काम समेत गर्ने गरेको देखिन्छ ।
फ्रान्सको पूर्वी क्षेत्रको साँघुरो उपत्यकामा हिमयुगका सिकारीले प्रवासमा आउने जङ्गली घोडा र रेन्डियरलाई घेराबन्दीमा पार्न हरेक शरद र वसन्त ऋतुमा आगोको घेरा बनाउने गरेका थिए । एक पटक आगोको घेरामा परेपछि जनावरलाई सुरक्षित र सजिलैसँग मार्न सकिन्थ्यो । त्यसरी ठूलो मात्रामा सिकार गरेपछि गर्मी र जाडोयामका लागि उनीहरूले मासुको सुकुटी बनाएर राख्दथे । पुरातात्त्विक उत्खननबाट के देखिएको छ भने हजारौँ वर्षसम्म यसरी सुनियोजित सिकार भइरह्यो ।
लगभग ४५ हजार वर्ष पहिले जब सर्वप्रथम मानवको उत्तरी जलवायुसँग साक्षात्कार भयो उनीहरूले चिसोबाट जोगिन मौलिक लुगाफाटो बनाए । उनीहरूले आफ्नो शरीर ढाक्न खुकुला लुगा बनाए जो स्लिपिङ ब्यागजस्ता देखिन्थे । लामा बाहुला भएका लुगाले गर्दा ढुङ्गाका छिनो समातेका हातसमेत चिसोबाट सुरक्षित हुन्थे ।
तर करिब ३० हजार वर्ष पहिले सबथोक परिवर्तन भयो, मानव इतिहासमा सबैभन्दा महत्त्वपूर्ण आविष्कार भयो :सियो ।
फागेन भन्दछन्, “यदि तपाईंले २० हजार वा ३० हजार वर्ष पहिलेको सियो हेर्नु भयो भने तपाईंलाई थाहा हुने छ त्यो क्षण कस्तो थियो होला । निकै राम्रोसँग बनाइएको औजारको एक छेउमा धागो हाल्न प्वाल बनाइएको थियो । सियोले गरेको चमत्कार के थियो भने यसले मानवलाई आफूअनुसारको लुगाफाटो बनाउन सक्षम बनायो । यस कारण यो महत्त्वपूर्ण औजार हो ।”
हिमयुगका सुचिकारले मौसम हेरेर लुगा सिउने गर्थे । लुगा पत्रदार हुन्थे । फरकफरक पशुका छाला प्रयोग गरिन्थ्यो । रेन्डियर, आर्कटिक फ्याउरो, खरायो, चराको समेतको छाला आपसमा गाँसेर चार–पाँच पत्रको लुगा उनीहरूले सिउँथे । ओसिलोपना नहुने भित्री वस्तु, पानीबाट जोगाउने पाइन्टसमेत त्यस युगका मानवले बनाएका थिए ।
जङ्गली सनपाट तथा अन्य तरकारीका रेसाबाट धागो बनाइने र तिनलाई गुलाबीलगायतका रङले रङ्ग्याउने काम समेत आदिम मानवले गर्दथे । सियो र धागो बनाएपछि प्रतिकूल मौसमका लागि सुरक्षित लुगा बनाउन उनीहरू सक्षम हुने नै भए ।
असाध्यै चिसो महिनामा आश्रयका लागि हिमयुगका हाम्रा पुर्खाले गुफाको गहिरो भागमा बस्दैनथे, जस्तो भिक्टोरियन पालाका पुरातìवविदले सोचेका थिए तर होमो सेपियन्सले प्राकृतिक चट्टानका कुना कन्दरामा आश्रयस्थल बनाउने गर्दथे । ती आश्रयस्थल प्रायः नदीको किनारामा बनेका ओत लाग्न मिल्ने खालका ठूला कन्दरा हुन्थे ।
फागनका अनुसार हिमयुगका मानवले चट्टानमा बनाइएको आफ्नो आश्रयस्थललाई जलरोधी बनाउन सक्ने क्षमताका थिए । उनीहरूले तेज हावाबाट आफूलाई जोगाउन ठूला छालाले छानो बनाए तथा भित्रतिर काठका खम्बा ठड्याएर टेन्ट जस्तो संरचना निर्माण गरे । चट्टानी भित्तोबाट परावर्तित भएर आउने प्रकाश र तापले त्यो आश्रयस्थलमा जाडो कम हुने विश्लेषण फागनको छ ।
छोटो समयका लागि आउने गर्मीयाममा सिकारीहरू खुला क्षेत्रमा निस्कन्थे, जो युरोपको आन्ध्रमहासागरदेखि साइबेरियासम्म विस्तारित थियो । रातिका बेला तापक्रम घट्दा उनीहरू जमिन खनेर गुम्बद आकारको आश्रयस्थल बनाउने गर्दथे ।
–हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित र सम्पादित ।