• १४ मंसिर २०८१, शुक्रबार

पाल्पाको जिप दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुग्यो

blog

दुर्घटनाग्रस्त जिप । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, जेठ २२ गते । जिल्लाको रैनदेवी छहरा –८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी –१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सिता गौतम रहनुभएको छ । यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका –२, का २ वर्षीय बालक संयोग गौतम र पणेनाका ४४ वर्षका विजय पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । गौतमको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र पोखरेलको चौराहा अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा  अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–४, धरमपानी बस्ने ७ वर्षका समीर पाण्डेय, सोही स्थानका १० वर्षका अनुप सोमरे, पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षकी आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षकी लक्ष्मी पोखरेल गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते चार जनाको उपचार भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 

यस्तै अर्घाखाँची जिल्ला पाणिनी –१, का ६६ वर्षका रामबहादुर विक, सोही स्थानका ६ वर्षका संयोग गौतम, सोही स्थानकी ५ वर्षकी पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षका सोलिन परियार घाइते हुनुभएको छ । यस्तै गुल्मी जिल्ला रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षका सार्थक ज्ञवाली पनि घाइते हुनुभएको छ । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

पाणिनी–१, अर्घाखाँचीका ४० वर्षका हरि गौतम समेत गम्भीर घाइते हुनुभएको छ । गौतमको बुटवलस्थित चौराहा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

आइतबार बेलुकी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप साढे ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । जिप माथिल्लो सडकदेखि ८० मिटर तल सडकमा खसेको थियो ।