बिन्दु थापा
तानसेन, जेठ २१ गते । बिभिन्न बहानामा जातीय विभेद कायमै रहेको दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले त्यसको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विकले विभेद निकै आश्चर्य, चिन्ता र अनुसन्धानको विषय रहेको बताउनुभयो ।
हाम्रो समाजमा कुनै संगठित रुपमा जातीय तथा साँस्कृतिक जागरणका अभियानले पनि जात ब्यबस्थाबिरोधि अभियान गर्न नसकेको उहाँको भनाइ छ । ३५ सय वर्ष लामो जातीय विभेद, छुवाछूत र उत्पीडन दलित समुदायले कसरी सहन गरे होला ? अध्ययन र खोजीको विषय बनाएर अगाडि बढ्न स्थानीय तहका सरोकारवालाई उहाँले सुझाव दिनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जातीय विभेद अन्त्यका लागि दलित र गैरदलितको आवाज एउटै हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर आवाज उठाउन तानसेन नगरपालिका सधै तयार रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “अधिकारका लागि जिम्मेवार बनाउन प्रयत्न सधै रहनेछ ।”
तानससेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिञ्जालीले जातीय विभेद निकै पुरानो बिषय भए पनि समुदायका मानिसलाई चेतना नआउँदा विभेद कायमै रहेको बताउनुभयो । तानसेन नगरपालिकाको आयोजनामा भएको जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा दिवस कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य मन्जु विक, दलित अधिकारकर्मी तीर्थ गौतम, पूर्व नगरप्रमुख अशोककुमार शाही, पत्रकार कृष्ण दर्नालले धारणा राख्नुभएको थियो ।