• १३ मंसिर २०८१, बिहिबार

पृथ्वी राजमार्गको चार लेन सडकमा धमाधम कालोपत्रे

blog

आँबुखैरेनी गाउँपालिका –१ सत्रसयमा सडक कालोपत्रे गरिदैं । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २० गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत कालोपत्रे सुरु भएको छ । आयोजनाको पूर्वीखण्डको कालोपत्रे सुरु गरिएको हो । आँबुखैरेनी गाउँपालिका –१ सत्रसय क्षेत्रमा कालोपत्रको काम धमाधम भइरहेको छ । 

दुई लेनको सडकलाई चार लेन बनाउनेक्रममा पहिलो चरणमा दुई लेनको कालोपत्रे सुरु गरिएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । यसै आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्नेगरी कालोपत्रे भइरहेको सुवेदीले जानकारी दिनुभयो । 

यातायात आवागमनलाई सहजकताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी उहाँले दिनुभयो । सुवेदीले भन्नुभयो, ‘‘निर्धारित समयमा पूरा गर्नेगरी कामलाई तीव्र पारेका छौँ ।’’ 

पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद वि.सं. २०८१ वैशाखसम्म छ । 

पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । 

पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । 

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।