• ७ वैशाख २०८१, शुक्रबार

नक्कली ‘वर्क परमिट’ बनाउने सक्रिय

blog

काठमाडौँ, जेठ २० गते । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएकोे जनाएको छ । विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै उक्त गिरोहले नक्कली ‘वर्क परमिट’ बनाएर ठगी गर्ने गरेको पाइएको हो ।

विभागले विज्ञप्तिमार्फत यसरी मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दा बढी व्यक्तिबाट लाखौँ रुपियाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरको छ । 

उक्त गिरोहले भ्रमण भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको छ । भ्रमण भिसामा गएर कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिन्छ । त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सम्बन्धित देशका निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड जरिबाना गराई वा थुनामा राखेर देश निकाला गर्छ । “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने भम्रण भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन,” विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

यस्तै दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सिप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लिने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । 

कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो नभएकाले त्यस्ता विषयमा विश्वास नगर्न पनि विभागले आग्रह गरेको छ । भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको दूतावास वा ती देश हेर्ने विदेशमा रहेको नेपाली दूतावासमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।