• ८ वैशाख २०८१, शनिबार

धिमाल समुदायले फुड फेष्टिवल आयोजना गर्दै

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, जेठ १९ गते । धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –७ मा धिमाल सांस्कृतिक महोत्सव एवम् फुड फेष्टिवलको आयोजना गर्नेभएको छ । पालिका भित्रका ६ वटै गाउँटोलमा जातिरि र सिरिजात सम्पन्न भएपछि कानेपोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरी यस वर्षको जातिरि पर्व समापन गर्न लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी फेष्टिवलका विषयमा जानकारी गराइएको हो । 

जेठ २५ गते कानेपोखरी गाउँपालिकाले धिमाल समूदायको जातिरि पर्वका अवसरमा पालिकाभरि सार्वजनिक बिदा दिनेभएको छ । पालिकामा २ हजार ४ सय जनसङ्ख्या रहेको धिमालहरूले बैशाख २ गतेदेखि असार २ गतेसम्म जातिरि पर्व मनाउने गरेका छन् । 

धिमालहरूको सघन बसोवास रहेका मोरङको कानेपोखरी, बेलबारी, उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाले धिमाल समूदायलाई हरेक वर्ष जातिरिका अवसरमा एक दिन बिदा दिँदैआएका छन् । धिमाल जातिको ऐतिहासिकतासँग जोडिएको कानेपोखरीकै नामबाट गाउँपालिकाको नामाकरण भएको छ । 

पृथ्वीनारायण शाहले विजयपुर आक्रमण गर्दा विपक्षबाट युद्ध लड्दा एक धिमाल महिलाले दुबै आँखा गुमाएकी थिइन् । उनै धिमाल महिलाले पोखरी परिसरमा आश्रय लिएर बसेको धिमाल अगुवाहरूको भनाइ छ । धिमाल भाषामा दुई आँखा नदेख्नेलाई कानो भनिन्छ । कानोपोखरीबाट अपभ्रंस भई पोखरीको नाम कानेपोखरी रहन गएको भनाइ छ । यसअघि कानको आकारको पोखरी भएको कारणले पोखरी परिसरमा कानको प्रतिमा बनाएर राखिएको थियो । 

धिमाल जातीय विकास समिति कानेपोखरीका अध्यक्ष प्रकाश धिमालले भन्नुभयोे–“धिमाल जातिको अपमान हुने पोखरीमा कानको प्रतिमा राखिएको छ । अब हामी ती साहसी महिला जसले युद्ध लड्दा दुबै आँखा गुमाएकी थिइन, उनकै शालिक राखेर जेठ २५ गते अनावरण गर्नेछौं ।” 

धिमाल जातिका परम्परागत खाना चिचिरी, गेन्द्रो, बगिया, गोरा, चुदुर, पायाको चिया, घुँगीलगायतको प्रदर्शनी र बिक्री गरिने आयोजकले जनाएको छ । महोत्सवमा धिमाल समूदायका कलाकारले गीत सङ्गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमको उद्घाटनका लागि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू आउनुहुने भएको आयोजकले जनाएको छ ।