• ८ वैशाख २०८१, शनिबार

भारत भ्रमणको तेस्रो दिन

प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको इन्दौरमा

blog

भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रबार मध्यप्रदेशको इन्दोर आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्नुहुँदै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानलगायत । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, जेठ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेश राज्यको इन्दौर पुग्नुभएको छ । भारत भ्रमणको तेस्रो दिन आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत मध्य प्रदेशको इन्दौर पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानलगायत उच्च अधिकारीहरूले ले इन्दौर विमानस्थलमा स्वागत गर्नुभयो ।

सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डलाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईँलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।


विमानस्थलबाट उहाँ उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नुहुनेछ । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनुहुनेछ ।

भ्रमणका क्रममा उहाँले आजै मध्य प्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनुहुनेछ । आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ ।


शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।