• ११ वैशाख २०८१, मङ्गलबार

बिरामीलाई निःशुल्क दुध वितरण

blog

दुध दिवसमा बिरामीलाई निःशुल्क दुध वितरण कार्यक्रमका सहभागी । तस्विर : भुवन कार्की

भुवन कार्की

रुपन्देही, जेठ १८ गते । नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ । यही विश्व दुध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीहरूलाई निःशुल्क दुध वितरण गराइएको हो । 

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना डीडीसी र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी र बिरामीका आफन्तलाई दुध तथा दुधजन्य परिकारहरूको भोजन गराएका हुन् । ‘दुध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ याे दिवस मनाइएको हो ।

उक्त अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दुध उपभोक्तासमक्ष पुर्याउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पाठकले गोठदेखि ओठसम्म दुधमा शुद्धता हुन आवश्यक रहेको बताउँदै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सुदर्शन थापाले स्वच्छ दुध नियमित सेवनले स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट जोगाउन सक्ने बताउनुभयो ।

नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले स्वस्थ दूधको खपत बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रशोधित दुध मात्रै स्वास्थ्यका लागि हितकर हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल डेरी एशोसिएसनका सल्लाहकार हिरा केसी, नेपाल डेरी एशोसिएसन केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने,रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले धारणा राख्नुभयो । 

लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर रहेको नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।