• ७ वैशाख २०८१, शुक्रबार

नगरपालिकाले थाल्यो कोल्ड स्टोर निर्माणको काम

blog

म्याग्दीको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माणस्थल । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माणको काम थालेको छ । नगरपालिकाले फलफुल तथा तरकारी सञ्चय गरेर बेमौसमी तबरले बिक्री गर्न सहज होस् भन्ने उद्देश्यसाथ कोल्ड स्टोर निर्माण थालेको हो ।

कोल्ड स्टोर निर्माण गर्न नगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा एक करोड ९० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ रुपियाँ लागत अनुमान गरिएको कोल्ड स्टोर निर्माणका लागि राजेशवावु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लख २० हजार सात सय ३८ रुपियाँमा २०७९ को फागुन ४ गते सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । 

‘फागुन ४ गते सम्झौता भए पछि सोही दिन नै नगरपालिकाले राजेश बाबु निर्माण सेवा बारकोट गाउँपालिका–५ जाजरकोटलाई कार्यादेश दिएको हो’ – ढकालले भन्नुभयो । आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको सो योजनाको निर्माण कम्पनीले बेनी नगरपालिका–४ सिंगाको राजिकुलोमा जग्गा व्यवस्थापन गरेर पर्खाल निर्माणको काम सुरु गरेको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । 

३०० मेट्रिक्टन क्षमताको कोल्ड स्टोर तापक्रमलाई सन्तुलित बनाइ राख्ने उपकरण र संरचनासहित निर्माण हुन लागेको उहाँको भनाइ छ । कृषिउपज संकलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको अध्यक्ष खड्काले बताउनुभयो । ‘नगरपालिका र म्याग्दीका अन्य गाउँपालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुंगा साबित हुने अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो, ‘कोल्डस्टोर नगरपालिकाको चालु वर्षको सबैभन्दा ठूलो योजना हो ।’

बेनी नगरपालिकाको वडा ३ को भकिम्लिको राखु, मरेक तथा वडा नं. ४ को बास्कुना एवम् थामाडाँडा क्षेत्र सुन्तलाको पकेट क्षेत्र हुन् । गत वर्ष उक्त क्षेत्रमा उत्पादन भएको तीन सय ४० मेट्रिक टन सुन्तला बिक्री भएको बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो । ‘बेनी नगरपालिकाको ३ र ४ नम्बर वडाको मरेक, राखु र बास्कुनालगायतका क्षेत्रमा सुन्तला उत्पादन हुने भएकाले त्यही क्षेत्रमा कोल्डस्टोर निर्माण गर्न लागिएको हो’ उहाँले भन्नुभयो ।