• ८ वैशाख २०८१, शनिबार

ओलावालेको ह्याट्रिकसँगै मच्छिन्द्र उपाधि रक्षाको बाटोमा

blog

साविक विजेता मच्छिन्द्रका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, जेठ १७ गते । टोलीका प्रभावशाली नाइजेरियल स्ट्राइकर ओलावाले ओलाडिपो आफिजले ह्याट्रिक गरेपछि साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मरक ‘ए’ डिभिजन लिगमा सातदोवाटो युथ क्लबमाथि सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा मच्छिन्द्रले सातदोवाटोलाई ३–१ गोलले हरायो । जितसँगै मच्छिन्द्रले उपाधि रक्षाको बाटोमा देखिएको छ । 

मच्छिन्द्रको जितमा ओलावालेले १७औं मिनेटमा गोलको खाता खोल्नुभएको थियो । पहिलो हाफकै इन्जुरी समयमा सातदोवाटोका गोरक्षकलाई पोस्ट नजिक छक्याउँदै ओलावालेले मन्छिन्द्रको अग्रता दोब्बर बनाउनुभयो । उहाँले ५६औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गर्नुभयो ।ओलावाले खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित हुनुभयो ।

लिगमा ओलावालेको यो दोस्रो ह्याट्रिक हो । उहाँले लिगको पहिलो राउन्डमा एफसी खुमलटारविरुद्ध ह्याट्रिक पूरा गर्नुभएको थियो । सातदोवाटोका लागि जोर्डन पुनमगरले ८४औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्रले २३ खेलबाट ३९ अङ्क बनाएको छ । चर्च ब्वाइजको समान खेलबाट ४१ अङ्क पुगेको छ । लिगमा लगातार चौथो हार खेपेको सातदोवाटो २३ खेलबाट २९ अङ्क जोड्दै सातौं स्थानमा छ । 

यसैगरी च्यासल मैदानमा बुधबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक  खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै २३ खेलबाट २७ अङ्क बनाएको थ्रीस्टार ११औं र समान खेलबाट २७ नै अङ्क बनाएको संकटा १२औं स्थानमा छ । २२ खेलबाट समान २४ अङ्क बनाएको फ्रेन्ड्स र एफसी खुमलटार रेलिगेसन रेखामा संघर्षरत छ ।