• १२ मंसिर २०८१, बुधबार

सिकलसेल र थालेसेमियाका बिरामी बढ्दै

blog

सिराज खान 

नेपालगञ्ज, जेठ १६ गते । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिँदै गएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परेको चिकित्सकहरूले जनाएको छ ।  

सिकलसेल र थालेसेमिया रोगको उपचारको श्रोत व्यक्तिका रूपमा रहनु भएका भेरी अस्पताल नेपालगञ्जका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थालेसेमिया रोगका बिरामीमा ८० प्रतिशत थारु समुदायका बालबालिका भेटिएको बताउनुभयो । उहाँले वंशाणुगत रोगको रूपमा रहेको थालासेमिया ८० प्रतिशत थारु समुदायका बालबालिकामा र २० प्रतिशत अन्य समुदायका बालबालिकामा भेटिएको जानकारी दिनुभयो ।

डा. पाण्डेका अनुसार थालेसेमिया सिकलसेल एनिमियाजस्तै आमा बुवाबाट बालबालिकामा सर्ने रोग भएकोले यसबाट सन्तानलाई जोगाउन विवाह गर्नु अगावै रगत परीक्षण गराएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्न हुँदैन भन्ने ज्ञान हुन जरुरी छ । 

पछिल्लो समय थालेसेमिया रोगबाट पीडित बालबालिका उपचारका लागि भेरी अस्पतालमा आउने क्रम ह्वात्तै बढेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले महिनामा १५ देखि २० जना थालेसेमियाबाट पीडित बालबालिका उपचारका लागि अस्पताल पुग्ने गरेको बताउनुभयो । उहाँले बाँके लगायत विभिन्न जिल्लामा सिकलसेल र थालेसेमियाबारे जनचेतना फैलाउने र रगत परीक्षण गर्ने कार्य भइरहेकोले पनि बिरामी फेला पर्दै गएको बताउनुभयो । 

सिकलसेल जस्तै थालेसेमिया पनि वंशाणुगत रोग भएकोले यसको रोकथाम र नियन्त्रणका लागि पनि विवाहपूर्व नै ध्यान दिएर रगत परीक्षण गराएर रोग नभएकासँग विवाह गरेमा मात्र नियन्त्रण सहज हुने चिकित्सकको भनाइ छ । 

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. पाण्डेले थालेसेमिया भएका महिला र पुरुषबीच विवाह नगर्दा यो रोग बच्चामा नसर्ने र एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग गर्नुपर्छ । 

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले थालेसेमियाका बिरामी र वाहक पत्ता लगाउने तथा समुदायमा सचेतना जगाउने काम भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाँकेको थारु बाहुल्य गाउँवस्तीमा यतिबेला स्वास्थ्य शिविरहरू सञ्चालन गरेर रगत परीक्षण गरी बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको छ । 

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङलगायतका जिल्लाका थारु समुदायमा यो रोगको समस्या बढी देखिएको छ ।