• २१ वैशाख २०८१, शुक्रबार

दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, जेठ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो । उहाँले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठुला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने र नागरिकलाई यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठुला–ठुला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ठुलाठुला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठुलाठुला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’’

प्रधानमन्त्री प्रचण्डले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको सुनिश्चित हुनेगरी छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताउनुभयो ।

पार्टीलाई नयाँ बनाउने चुनौती छ

प्रधानमन्त्री  ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, सांगठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन।’’ उहाँले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताउनुभयो।

प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, ‘‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु। उहाँले विद्युत, सीमा, पारवहन लगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताउनुभयो। देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु। केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु।’’