• ४ वैशाख २०८१, मङ्गलबार

नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, जेठ १५ गते । सिन्धुलीको कमलामाई नगरपालिकामा बीपी राजमार्ग अन्तर्गत दायाँबायाँ किनारामा बन्ने घरको नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित बनेका छन्। 

उक्त सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटरभित्र घरको नक्सापास नगरपालिकाले रोकेपछि सुकुमवासी बन्ने सम्भावना देखेर आन्दोलित हुनुपरेको जग्गाधनीको गुनासो छ। उनीहरूका अनुसार बिपी राजमार्ग निर्माणको बेलामा २०५८ सालतिर नै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५/१५ गरी ३० मिटर जग्गाको मुआब्जा जग्गाधनीले बुझेका थिए तर अहिले नगरपालिकाले त्योभन्दाबाहेक दायाँबायाँ थप १६/१६ मिटर जग्गा सडकको क्षेत्राधिकार भन्दै नक्सापास रोकेको छ।  

थप १६ मिटर जग्गाको मुआब्जा पनि नपाएको र यो जग्गामध्ये नगरपालिकाले दायाँबायाँ छ/छ मिटर सेडब्याक भनेकाले आन्दोलित हुन परेको कमलामाई नगरपालिका–६ निवासी जग्गाधनी शम्भुप्रसाद गजुरेल बताउनुहुन्छ। उहाँले भन्नुभयो, “नगरपालिकाले सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५ मिटरबाहेक अरू छ मिटर सेडब्याक छाडेर सुरुमा घर निर्माण गर्न अनुमति दियो। मैले छ मिटर होइन अरू दुई मिटर थपेर आठ मिटर सेडब्याक छाडेर घर बनाएँ। अहिले नगरपालिकाले थप १० मिटरभित्र बन्ने घरको नक्सापास रोकेपछि मेरो घर भत्किने अवस्थामा पुगेको छ।”

सरकारी निकायको अदूरदर्शी निर्णयले कैयौँ जग्गाधनी सुकुमवासी बन्ने भएको उहाँको गुनासो छ। कमलामाई नगरपालिका–४, मल्लागाउँका रेशम पोखरेल नक्सापास नभए पनि धेरैले जोखिम मोलेर भए पनि निजी आवास र व्यापारिक प्रयोजनका लागि घर बनाएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “बीपी राजमार्गको दायाँबायाँ ३१/३१ मिटर छाड्नुपर्ने नियम लागू भयो भने धेरै व्यक्ति सुकुमवासी नै बन्छन्। सुरुमा जग्गा किन्दा त्यो नियम लागू थिएन, अहिले नगरपालिकाले सडकको क्षेत्राधिकार भन्दै नक्सापास रोकेको छ।”  

कमलामाई नगरपालिकाले बर्दिबास–सिन्धुली–धुलिखेल सडक आयोजनासँग सडकको क्षेत्राधिकार माग्दा दायाँबायाँ २५/२५ गरी ५० मिटर जग्गा सडकको क्षेत्राधिकार भएको जानकारी दिएपछि समस्या भएको जनाएको छ। 

नगरपालिकाका इन्जिनियर विनोदबाबु खकुरालले सुरुमा थाहा नभएर सडकको दायाँबायाँ गरी ४२ मिटर बाहिरको जग्गामा बन्ने घरको नक्सापास हुँदै आएको बताउनुभयो। उहाँले उक्त सडक आयोजनाले त्यस किसिमको जानकारी पठाएपछि अहिले थप २० मिटरभित्रको जग्गामा बन्ने घरको नक्सापास रोकिएको जानकारी दिनुभयो। 

पोखरेलका अनुसार राजमार्गको दायाँबायाँ १५/१५ मिटर बाहिर आठ/दस धुर जग्गा किन्ने धेरै छन्। त्यस्ता जग्गाधनीको उठीबास लाग्ने अवस्था भएको छ। १५ मिटरबाहिरको थप १६ मिटर जग्गाको लगत पनि कट्टा नगरेको र नगरपालिकाले कर पनि लिइरहेकाले त्यस्ता जग्गामा बन्ने घरको नक्सापास हुनुपर्ने उहाँको तर्क छ। 

कमलामाई नगरपालिका–६, रातमाटा निवासी सुजित साह भन्नुहुन्छ, “नक्सापास नदिने हो भने त्यस्ता जग्गा र बनेका घरको सरकारले उचित मुआब्जा दिनुप-यो। घर बनाउन पनि नदिने, मुआब्जा पनि नदिने। धेरै अन्याय भएको छ।” सडकको केन्द्रबिन्दुबाट एकातिर मात्रै ३१ मिटर जग्गा छाड्नु प¥यो भने लाखौँ रुपियाँ फसाएर आठ धुर/१० धुर जग्गा किन्ने धेरै व्यक्ति सुकुमवासी हुने उहाँको भनाइ छ।