• १३ वैशाख २०८१, बिहिबार

सहकारीमा जनताको झन्डै पाँच खर्ब निक्षेप

blog

काठमाडौँ, जेठ १५ गते । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपियाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ रहेको छ  ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपियाँ रहेको छ ।

यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह चार खर्ब २६ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । सहकारी क्षेत्रमा ९१ हजार तीन सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्ख्या ९३ हजार ७७१ पुगेको अर्थ मन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कका लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०७९ असारसम्म १० हजार ८४१ सहकारी संस्था आबद्ध भएका छन् । यस आर्थिक वर्षको फागुनसम्म तीन हजार २४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आबद्ध भएका छन् ।

निक्षेप परिचालन र कर्जा प्रवाहमा वृद्धि

आर्थिक वर्ष २०७९/८० को फगुनसम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ५.५ प्रतिशतले वृद्धि भई ४३ वर्ष ६३ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.८ प्रतिशतले वृद्धि भई ४७ वर्ष ४५ अर्ब २८ करोड रुपियाँ पुगेको छ । 

२०७९ फागुनसम्म कुल निक्षेपमध्ये मुद्दती ५९.९ प्रतिशत, बचत २५.७ प्रतिशत, चल्ती ७.९ प्रतिशत र अन्य निक्षेपको अंश ६.५ प्रतिशत रहेको छ ।

पुनर्कर्जामा सात अर्ब, सहुलियत कर्जा दुई खर्ब बढी

नेपाल राष्ट्र बैङ्कले सहुलियतदरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ फागुन मसान्तमा सात अर्ब १२ करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक लाख ४८ हजार ४५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब आठ अर्ब ९६ करोड रुपियाँ कर्जा लगानीमा रहेको छ । कुल सहुलितयपूर्ण कर्जा लगानीमध्ये वाणिज्य बैङ्कबाट ८८ प्रतिशत, विकास बैङ्कबाट १०.६ प्रतिशत, वित्त कम्पनीबाट १.४ प्रतिशत र लघुवित्त संस्थाबाट ०.०३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म प्रवाहित सहुलियतपूर्ण कर्जा लगानी दुई खर्ब आठ अर्ब ९६ करोडमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ६७.८ प्रतिशत, महिला उद्यमशील कर्जातर्फ ३०.७ प्रतिशत र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकतर्फ १.५ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैङ्क पुनर्कर्जा कार्यविधि २०७७ मा पाँचौँ संशोधन गरी बैङ्कबाट प्रदान हुने पुनर्कर्जा सुविधालाई विशेष अवस्थामा तोकिएका क्षेत्रहरूमा सीमित गरी गैरपरम्परागत मौद्रिक उपकरणका रूपमा मात्र प्रयोग गर्ने व्यवस्था गरिएको छ ।२०७९ पुस मसान्तसम्म वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानीको कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा ६.३ प्रतिशत र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा ९.५ प्रतिशत गरी जम्मा १२ खर्ब दुई अर्ब ९३ करोड रुपियाँ कर्जा लगानी रहेको छ । 

विकास बैङ्कहरूले २०८० असारसम्म कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुससम्म उक्त क्षेत्रमा २६.६ प्रतिशत (एक खर्ब १५ अर्ब ७५ करोड रुपियाँ रहेको छ । त्यसै गरी वित्त कम्पनीले २०८० असारसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि लघु घरेलु तथा साना उद्यम/व्यवसाय ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुससम्ममा उक्त क्षेत्रहरूमा २४ प्रतिशत (१९ अर्ब ३३ करोड रुपियाँ) रहेको छ ।