• १५ चैत २०८०, बिहिबार

पशु स्वास्थ्य क्षेत्रलाई सरकारले महत्त्व दिनुपर्छ : मन्त्री भुसाल

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल । फाइल तस्बिर

काठमाडौं, जेठ १४ गते। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ।

आइतबार काठमाडौँमा भएको महिला पाराभेटेनरीयनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो। उहाँले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्त्व दिएको भन्दै अब पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्त्व दिने बताउनुभयो। 

उहाँले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको विषय बुझ्न नसकिएको बताउनुभयो। मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्त्व नदिएको स्वीकार गर्नुभयो। उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानुन परिमार्जन र नयाँ कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौँ। धेरै अस्पतालसमेत खोलेका छौँ। तर पशु स्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौँ भन्ने लाग्छ। पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौँ। हामीले त्यो बुझाउनु आवश्यक छ। अब सरकारले पनि महत्त्व दिनुपर्छ। पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्त्वका साथ अगाडि बढाउनु पर्छ। सरकारले कतिपय नयाँ ऐन पनि बनाउनु पर्नेछ। बनेका ऐनको नियमावली नबन्ने नकारात्मक प्रवृत्ति छन्। अब पनि महिलालाई चुह्लो चौकामा मात्रै सीमित गरिन्छ भनेर किन भन्ने। महिला देशभर यसरी सक्रिय भएर लाग्नु भएको छ। अब महिला समाजलाई कसरी अगाडि बढाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक छ।’’

मन्त्री भुसालले भेटेरिनरी क्षेत्रमा देशैभर महिला सक्रिय सहभागिता देख्दा खुसी लागेको बताउनुभयो। उहाँले समाज रूपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिनु आवश्यक रहेको भन्दै अब महिला हेपिए भनेर बस्न नहुने बताउनुभयो। उहाँले महिला चुह्लो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको बताउनुभयो।