• ७ वैशाख २०८१, शुक्रबार

सङ्ग्रहालयकै कर्मचारीले चोरेका थिए मोनालिसाको चित्र

blog

सन् १९११ अगस्त २१ मा लुभ सङ्ग्रहालयबाट मोनालिसाको चित्र हराएको थियो। लियोनार्दो डा भिन्चीले बनाएको सो विश्व प्रसिद्ध चित्र एकाएक सङ्ग्रहालयबाट हराएपछि हल्लीखल्ली मच्चियो। फ्रान्सका जासुसले मोनालिसाको चित्र खोज्न हरसम्भव प्रयास गर्न थाले। दुई वर्षभन्दा बढी समय मोनालिसाको चित्र खोजियो। जासुसहरूले यस कुख्यात चोरीको हल खोज्न शङ्काको घेरामा प्रख्यात कवि गियमो अपोलोनार र कलाकार पाब्लो पिकासोलाई समेत राखे। उनीहरूले यी दुवै महान् हस्तीसँग केरकारसमेत गरे। अमेरिकी धनाढ्य जेपी मोर्गनले मोनालिसाको चित्र चोर्न चोर खटाएको शङ्का समेत गरियो। सम्भावित सबै कोणबाट अनुसन्धान गर्दा पनि मोनालिसाको चित्रको कुनै सुराक मिल्न सकेन।

त्यसपछि सन् १९१३ डिसेम्बरमा इटालीको फ्लोरेन्समा घरमा रङरोगन गर्ने एक जना इटालियाली पेन्टर कलाकृतिका एक प्रख्यात व्यापारीको सम्पर्कमा आए। उनले आफूसँग एक विश्व प्रसिद्ध चित्र भएको दाबी गरिरहेका थिए। कारोबार गरिने स्थानमा प्रहरीले छापा हान्यो र लुभ सङ्ग्रहालयका पूर्वकर्मचारी भिन्सेन्जो पेरुज्यालाई समात्यो। उनीबाट प्रहरीले मोनालिसाको चित्र बरामद ग¥यो। पेरुज्यासँग केरकार गरेपछि के पत्ता लाग्यो भने मोनालिसाको चित्र चोरिएको दिन सङ्ग्रहालय बन्द थियो। चित्र चोर्नका लागि पेरुज्या या त राति सङ्ग्रहालयमै लुकेका थिए या बिहान अन्य कामदारसँगै सुटुक्क सङ्ग्रहालय प्रवेश गरी मोनालिसाको चित्र फ्रेमबाट झिकेर आफ्नो लुगाभित्र लुकाई लगेका थिए। 

मोनालिसाको चित्र आफ्नो देशको सम्पत्ति भएको दाबी गर्ने पेरुज्यालाई इटालीमा एक देशभक्तका रूपमा चित्रण गरियो र उनले चित्र चोरेको अपराधमा छ वर्ष जेल समय बेहोरे। 

–युवामञ्च