• १६ चैत २०८०, शुक्रबार

स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा

blog

प्रजातन्त्रवादी श्रमजीवी पत्रकारको साझा सङ्गठनका रूपमा स्थापना भएको नेपाल प्रेस युनियनले आज ३२ औँ स्थापना दिवस मनाउँदै छ । २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपज हो नेपाल प्रेस युनियनको जन्म । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुर मात्र नभई सबै खाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारको हकहित संरक्षण ट्रेड युनियनवादभित्र पर्ने मान्यतालाई यसले आत्मसात् गरेको छ । 

युनियनको स्थापनाकालमा जम्मा १७ जना सदस्य थिए । जसमा जयप्रकाश प्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुङ्गाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका हुनुहुन्थ्यो । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । 

त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो भने पर्साको वीरगञ्जमा २०५३ साल मङ्सिर २२ र २३ गते भएको तेस्रो महाधिवेशनले तारा बराललाई अध्यक्ष बनायो । त्यसैगरी चौथो महाधिवेशन दाङको घोराहीमा २०५५ साल माघ २४ र २५ गते भएको थियो । उक्त महाधिवेशनमा निर्वाचन प्रव्रिmयाका व्रmममा केही विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित भएको थियो । पछि उक्त निर्वाचन २०५६ साल साउन ७ गते सुनसरीको इटहरीमा भएको महाधिवेशनमा कुलचन्द्र वाग्लेको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो । सिराहाको लहानमा २०६० साल असार १४ र १५ गते भएको पाँचौँ महाधिवेशनले मुरारीकुमार शर्मालाई अध्यक्षमा निर्वाचित गरेको थियो भने उहाँको उत्तराधिकारीमा २०६४ साल भदौ २८ र २९ गते कास्कीको पोखरामा भएको छैठौँ महाधिवेशनबाट समिरजङ्ग चयन हुनु भयो । त्यसैगरी २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भएको सातौँ महाधिवेशनले किरण पोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति सर्वसम्मत गठन ग-यो । 

पोखरामा २०७१ भदौ २२ र २३ गते भएको आठौँ महाधिवेशनबाट निर्वाचित बद्री सिग्देल नेतृत्वको कार्यसमिति भने सबैभन्दा लामो समयसम्म रह्यो । तीन वर्षका लागि निर्वाचित कार्यसमितिले आठ वर्षपछि २०७९ साल साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा महाधिवेशन गरेर शिव लम्साल नेतृत्वको वर्तमान कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । नयाँ कार्यसमितिले झन्डै एक वर्षको अवधिमा सात प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ भने झन्डै २८ जिल्लाको जिल्ला अधिवेशन पनि सम्पन्न गरेको छ । अन्य धेरै जिल्लाको अधिवेशन हुने चरणमा रहेका छन् । जेठ महिनाभरिमा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजना युनियनको छ । नियमित बैठक, केही जिल्लामा तालिम, समसामयिक कार्यव्रmम, आन्दोलन र अन्तव्रिर्mया त भइरहेकै छन् । युनियनले आफ्ना हरेक गतिविधिलाई आजपर्यन्त लोकतन्त्र, स्वतन्त्रता र श्रमजीवीको पक्षमा केन्द्रित गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका हरेक आन्दोलनमा युनियनले नेतृत्वदायी भूमिका खेलेको छ । अनेक प्रलोभन, धम्की र दबाब आउँदा पनि अहिलेसम्मको नेतृत्वले खुट्टा कमाएन । बरु थप सङ्घर्ष गरेको इतिहास युनियनको छ । पत्रकार मैत्री ऐन, कानुन बनाउन प्रेस युनियनले सधैँ सरकारलाई बाटो देखायो भने स्वतन्त्रता र श्रमजीवी विरोधी सरकारका हरेक कदमका विरुद्ध युनियनले सधैँ प्रतिरोध ग-यो । आफू शुभेच्छुक रहेको पार्टीको सरकारले गरेका गलत कामका विरुद्धमा पनि आवाज उठाउन पछि परेन । सरकारमा को छ र गलत काम कसले गरेको हो भन्ने नहेरी युनियनले सधैँ गलतको विरोध र सहीलाई समर्थन गर्दै आयो । युनियनको यो योगदान आफूसँग आबद्ध पत्रकारका लागि मात्रै नभई आमनागरिकको आधारभूत अधिकारका लागि भएको छ । त्यसैले नेपाल प्रेस युनियन कांग्रेसनिकट पत्रकारको संस्था मात्र नभई लोकतन्त्र र नागरिक अधिकारको पहरेदार पनि हो भन्ने कुरा पटक पटक प्रमाणित भएको छ । 

गौरवमय, सङ्घर्षपूर्ण र सुनौलो इतिहास भएको प्रेस युनियनका सामु अहिले पनि स्वतन्त्रता, व्यवसायिकता र श्रमजीवीका हक अधिकारका पक्षमा नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी उत्तिकै छ । युनियनमा आबद्ध झन्डै नौ हजार पत्रकारको सुख दुःखको साथी बन्नु एकातर्फ छँदै छ भने पत्रकारिता पेसाको गुणस्तर खस्किँदै जानु अर्को मुख्य चुनौती छ । पत्रकारिताका नाममा हुने गरेका गलत व्रिmयाकलाप र पत्रकारमाथि हुने गरेका आव्रmमणका विरुद्धमा युनियन खरो रूपमा उत्रिनु पर्ने अवस्था छ । स्वार्थ समूहले पत्रकार र पत्रकारितालाई दुरुपयोग गरेर पत्रकारिताको साख गिराउने काम भइरहेको प्रति युनियनले व्यावसायिक धर्मका बारेमा सबैलाई सिकाउनु आवश्यक छ । त्यसका लागि पत्रकार आचार संहितासम्बन्धी सचेतना र अभिमुखीकरण कार्यव्रmम देशव्यापी गर्नु छ । त्यसैगरी पत्रकारिताका नाममा प्रचारकारिता गर्नेलाई पत्रकारिता सिकाउनु पर्ने अवस्था छ । उनीहरूलाई समाचारको मूल्य, महत्व र मापदण्डका बारेमा प्रशिक्षित गर्नुपर्ने खाँचो छ । त्यसका लागि युनियनले प्रशिक्षण अभियान सुरु गरिसकेको छ । 

प्रेस युनियनसहित पत्रकारितासम्बन्धी सबै निकाय तथा सङ्घसंस्थाको अर्को सबैभन्दा ठुलो चुनौती भनेको इन्टरनेट र डिजिटल माध्यमले सिर्जना गरेको चुनौती हो । यसमा अवसर जति छ, चुनौती र समस्या पनि उत्तिकै आएका छन् । इन्टरनेट र डिजिटल माध्यमले पत्रकारितालाई सजिलो र प्रभावकारी बनाएका छन् भने आमनागरिकको पहुँच पनि धेरै बढाएको छ तर त्यो सजिलोपनाको दुरुपयोग गरेर पत्रकारिताका नाममा दुष्प्रचार र भ्रम छर्ने खेती पनि तीव्र रूपमा हुन थालेको छ । आवरणमा सञ्चारमाध्यम जस्तो देखिने तर सञ्चारमाध्यम नभई दुष्प्रचार माध्यमको काम भइरहेको छ । त्यसैगरी आवरणमा समाचार जस्तो देखिने, यथार्थमा भ्रामक सामग्रीको प्रवाह पनि आगोझैँ सल्किएको छ । अतः सञ्चारमाध्यम र सञ्चारकर्मीको अवसरमा भएका विकृति न्यूनीकरणका लागि पनि प्रेस युनियनले काम गर्नुपर्ने भएको छ । नत्र सञ्चारमाध्यम, पत्रकारिता र पत्रकारको अस्तित्व सङ्कटमा पर्ने र उनीहरूको औचित्यमाथि प्रश्न उठ्ने छ । त्यसका लागि सञ्चारका नयाँ माध्यमको व्यवस्थित र अनुशासित प्रयोगका लागि ठोस नीतिगत तथा संरचनागत व्यवस्था गराउन युनियनले सरोकारवालालाई घच्घच्याउन ढिला भइसकेको छ । 

प्रेस युनियनले पत्रकार र पर्चाकार छुट्याउन आमनागरिकलाई सिकाउने अभियानमा पनि आफूलाई केन्द्रित गर्नु उपयुक्त हुन्छ । त्यसैगरी समाचार र दुष्प्रचार छुट्याउन पनि आमनागरिकलाई सिकाउनु पर्ने आवश्यकता छ । आमनागरिकले नै पत्रकार र प्रचाकार वा सञ्चारमाध्यम र दुष्प्रचार माध्यम छुट्याउन नसक्दासम्म पत्रकार र सञ्चारमाध्यमको विश्वसनीयता र अस्तित्वमाथि प्रश्न उठिरहन्छ । इन्टरनेट र डिजिटल माध्यममा आएका सबै सामग्रीलाई समाचार मान्ने र त्यसका सबै प्रेषकलाई पत्रकार मान्ने नागरिक जमात ठुलो छ । यो बुझाइमा परिवर्तन ल्याउन अत्यावश्यक छ । सबैलाई एउटै डालोमा हालेर पत्रकार मान्ने हो भने वास्तविक पत्रकार मर्कामा पर्छन् । उनीहरूको काम र भूमिका नै ओझेलमा परिसकेका छन् । त्यसैले पत्रकारको भूमिका र कामलाई स्थापित गर्ने नयाँ चुनौती सञ्चारसम्बन्धी सबै संस्थालाई झैँ प्रेस युनियनलाई पनि छ । त्यसका लागि आमनागरिकका बिचमा डिजिटल साक्षरता वा सञ्चार साक्षरता अभियान चलाउनु पर्छ । 

आमनागरिकलाई पत्रकार र सञ्चारमाध्यम चिन्न सिकाउने काम एकातर्फ छ भने पत्रकारलाई सञ्चारमाध्यममा टिकाउने चुनौती अर्कोतर्फ छ । सञ्चारमाध्यम खुल्ने क्रम जति चलिरहेको छ, उनीहरूको दिगोपनामा पनि उत्तिकै कठिनाइ छ । सञ्चारमाध्यमको जीवन सङ्कटमा रहँदासम्म पत्रकारको जीवन पनि सङ्कटमा रहनु स्वाभाविक नै हो । सञ्चारमाध्यम आर्थिक रूपमा सबल नहुँदासम्म सञ्चारकर्मीको पेसागत सुरक्षा चिन्ताको विषय बनी नै रहन्छ । त्यसैले पत्रकारको पेसागत वा रोजगारीको सुरक्षालाई प्रेस युनियनले मिहिन रूपमा लिनु पर्छ । ट्रेड युनियन आन्दोलनको नेतृत्वदायी संस्था हुनुको नाताले पनि प्रेस युनियनको पहिलो प्राथमिकताको विषय पत्रकारको रोजगारीको सुरक्षा हो । त्यसका लागि दिनप्रतिदिन काम गर्नुपर्ने अवस्था छ । देशका अधिकांश सञ्चारमाध्यममा श्रमजीवी पत्रकारका समस्यै समस्या छन् । उनीहरूको रोजगारी सधैँ धरापमा छ । त्यसको दीर्घकालीन समाधान खोज्ने र श्रमजीवीको साथमा उभिने काम त युनियनको दैनिकी नै हो । 

यसरी श्रमजीवी र स्वतन्त्रताका पक्षमा काम गर्दै आएको युनियनले आगामी दिनमा परिवर्तित चुनौतीलाई समेत सामना गर्दै आफ्नो भूमिका देखाउनु पर्ने आवश्यकता छ । युनियनमा नेतृत्वको निरन्तरता मात्रै नभई सबैलाई अनुभूति नै हुने गरी खरो रूपमा केही न केही नयाँ योगदान दिन युनियनमा आबद्ध केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म खट्नुपर्ने छ । उनीहरूलाई सही बाटोमा लाग्नका लागि खबरदारी गर्ने जिम्मेवारी भने सञ्चारमाध्यमका उपभोक्ताका रूपमा रहेका पाठक, दर्शक र श्रोताको पनि छ । त्यसै गरी लोकतन्त्रको पहरेदारी गर्ने संस्था भएकाले लोकतन्त्र पक्षधर सबै नागरिकले पनि यसलाई सघाउन र घच्घच्याउनु पर्छ । उल्लिखित जिम्मेवारी निर्वाह गर्न युनियनका पदाधिकारी, सदस्य, मिडियाका उपभोक्ता र लोकतन्त्रप्रेमी सबैलाई जाँगर चलोस्, स्थापना दिवसको अवसरमा यही छ शुभकामना । 

लेखक नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । 

  

Author

जीवन भण्डारी