• १५ चैत २०८०, बिहिबार

दुई दिनदेखि हवाई सेवा अवरुद्ध

blog

दुई दिनदेखि उडान हुन नसकेको सिमकोट बिमानस्थल । फाइल तस्बिर

राजन रावत

हुम्ला, जेठ ११ गते । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो । 

लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोट स्टेसनका प्रमुख मोहन गिरीले जानकारी दिनुभयो । नेपालगञ्ज विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका निजी हवाईजहाजहरू पनि उडान भर्न नपाउँदा मर्कामा परेको बताएका छन् । 

पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगञ्जबाट कुनै पनि उडान हुन नसकेको हो । एकातिर उडान नै कम भइरहेका बेला झन् त्यसमाथि खराब मौसमका कारण उडान अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेको बताएका छन् । 

नेपालबाट समिट र सीता एयरको जहाजले उडान भर्ने तयारी गरे पनि खराब मौसमका कारण उडान हुन नसकेको बताउँदै उहाँले दुई दिनदेखि कार्गो तथा यात्रु उडान हुन नसकेको बताउनुभयो । यसबाट नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रुहरू मर्कामा पर्नुभएको छ । 

सिमकोटबाट सुर्खेत र नेपालगञ्ज झर्ने यात्रुहरू पनि सिमकोटमै रोकिनुपरेको छ । कार्गो सामान ढुवानी हुन नसकेपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको समेत अभाव देखिन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न समेत ढुवानी हुने सकेको छैन ।