• २८ पुस २०८१, आइतबार

रोजगार मेलामा ५५० जनाको आवेदन

blog

मेला समापनका क्रममा आयोजक तथा सहभागिहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ ११ गते ।
 बुटवलमा भएको दुई दिने रोजगार मेलामा साढे पाँच सय जनाले रोजगारीका लागि आवेदन परेको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य उज्ज्वलप्रसाद कसजूले इन्टरनेशनल लेबर अर्गनाइजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको ‘जब फेयर’ मा ५५० जना बढीले आवेदन दिएको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव विमलराज भट्टराईले मेलामा आउने अधिकांश कलेजमा अध्ययनरत विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, काम छोडेर बसेका, वैदेशिक रोजगारीबाट फर्किएकालगायत रहेको बताउनुभयो ।

मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा करिब तीन सय जनालाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरूबाट उद्योग प्रतिष्ठानहरूमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनौट गरिएको उद्योग प्रतिष्ठानका प्रतिनिधिको भनाइ छ ।

रोजगारीको अवसर खोजेर मेलामा आएकाहरूले आफ्नो क्षमता र चाहना अनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तर्वार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाइने छ ।

नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता हटाउन मेला गरिएको इन्टरनेशनल लेबर अर्गनाइजेशन (आई.एल.ओ.) का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले बताउनुभयो ।

मेलाको समापनमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरूका लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै प्रशंसा गर्नुभयो ।

मेलाको मङ्गलबार नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नु भएको थियो ।