• ७ वैशाख २०८१, शुक्रबार

मुम्बई इन्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा

blog

जित निकालेपछि मुम्बईका खेलाडी ।

काठमाडौं, जेठ ११ गते । मुम्बई इन्डियन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नइमा बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । 

मुम्बईले दिएको एक सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनउ १६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो ।लखनउका लागि मार्कस स्टोयनिसले सर्वाधिक ४० रन बनाउनुभयो ।

कायल मेयर्सले १८ र दीपक होडाले १५ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङमा मुम्बईका आकाश मधवालले पाँच विकेट लिनुभयो । क्रिस जोर्डन र पीयूष चावलाले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाउनुभयो ।

सूर्यकुमार यादवले ३३, तिलक बर्माले २६, नेहाल वाधेराले २३, ईशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन बनाउनुभयो । बलिङमा बलिङमा लखनउका नवीन उल हकले चार विकेट लिनुभयो । यश ठाकुरले तीन र मोहसिन खानले एक विकेट लिनुभयो ।

मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाईटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित लखनउ प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ । एजेन्सी