• १५ वैशाख २०८१, शनिबार

लोकगीतको बढ्दो लोकप्रियता

blog

काठमाडौँ, जेठ १० गते । सङ्गीत मन नपर्ने वा सङ्गीतले मन नछुने मान्छे विरलै होलान् । यद्यपि, कस्तो सङ्गीतमा रमाउने भन्ने विषय व्यक्तिको उमेर वा परिवेश अनुसार फरक हुन सक्छ । युवावस्थामा पप रकमा रम्नेहरू परिपक्व हुँदै जाँदा आधुनिक वा कालजयी गीतमा रमाउँछन् भने आफ्नो जन्मथलो र गाउँठाउँबाट टाढिएपछि भने त्यही परिवेशको लोकभाका र लोकदोहोरीप्रति  रुचि बढ्न सक्छ । 

पछिल्लो समय लोकगीत मन पराउनेको सङ्ख्या बढ्दै गएको देखिन्छ । कुनै समय हिन्दी गीत घन्कने सहरका कुनाकुनाका रेस्टुराँ र डान्सबारमा पछिल्लो समय लोकगीत भाका सुनिन थालेका छन् । गाउँ वा सहर विभिन्न ठाउँमा लाग्ने मेला, महोत्सव वा चाडपर्वमा आफ्नो गाउँठाउँका लोकभाका र सङ्गीतलाई प्राथमिकता दिन थालिएको छ । यति मात्र होइन नेपालका सञ्चार माध्यमको रोजाइ पनि  लोकगीत भएको छ । यसले लोकगीत सङ्कलन र सङ्गीतकर्मी सबैलाई प्रोत्साहित गरेको छ । 

लोकगायिका राधिका हमाल लोकगीत गाएर आर्थिक पक्ष सबल हुनु आत्मसन्तुष्टिको विषय भएको बताउनु हुन्छ । उहाँ स्टेजमा आफू मात्र गाउने र नाच्ने गर्नुहुन्न दर्शकलाई पनि गाउन र नाच्न प्रेरित गर्नुहुन्छ । लोकगीत र स्रष्टालाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको अनुभूति गर्दै उहाँ भन्नुहुन्छ “लोकगीत गाउँदा दर्शक र श्रोताबाट पाएको माया र सम्मानले अझ बढी हौसला प्रदान गरेको छ । कुनै समय लोकगायिका हुँ भन्दा नाक खुम्च्याउनेहरू अहिले अटोग्राफ लिन तँछाडमछाड गर्छन् ।”

लोकगीतले नेपालका मौलिक र ठेट भाषालाई स्थापित गर्दै लगेको छ भने अर्कोतिर हिन्दी वा पश्चिमा गीत–सङ्गीतको प्रभावलाई केही हदसम्म भए पनि कम गरेको दाबी लोकगायक खुमन अधिकारीको छ । 

उहाँ भन्नुहुन्छ, “अन्यभन्दा भिन्न देखिने भनेकै आफ्नो कला–संस्कृतिले हो । कला र सङ्गीतको पाटोबाट हेर्ने हो भने लोकगीतले जति आफ्नोपन र आत्मीयताको अनुभूति अन्यले गराउनै सक्दैन । नेपाली सङ्गीतप्रेमीका लागि लोकसङ्गीत बेग्लै शैलीको मनोरञ्जनको माध्यम बनिसकेको छ ।”  

चलचित्रका कलाकारले लोकगीतमा अभिनय गरेसँगै लोकगीतको लोकप्रियता पनि उल्लेखनीय रूपमा बढेको छ । पहिले लोकगीत भन्नासाथ नाक खुम्च्याउने कलाकारहरू अहिले खोजीखोजी कम्मर मर्काउन थालेका छन् । राजेश हमाल, करिश्मा मानन्धर, झरना थापा, दिलीप रायमाझी, नन्दिता केसीजस्ता कलाकारले लोकगीतका भिडियोमा मोडलिङ गरी सक्नुभएको छ ।

समय, प्रविधि र दर्शकको चाहना अनुसार परिवर्तन र परिमार्जन भएका कारण लोकगीतले थप लोकप्रियता हासिल गरिरहेको स्रष्टाहरूको भनाइ छ । लोकभाकामा प्रयोग गरिने बाजामा पनि परिवर्तन आएको छ । पहिले मादल, सारङ्गी, बाँसुरी र हार्मोनियम मात्र प्रयोग गरिन्थ्यो तर अहिले आवश्यकता अनुसार सेक्सोफोन, भ्वाइलेन, सन्तुर, किबोर्ड, गितारसँगै अन्य आधुनिक बाजा पनि बजाइन्छ । 

विमाकुमारी दुरा, हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, राजु परियार, देवी घर्ती, बमबहादुर कार्की, घमेष दुलाल, नवराज घोरासैनी लोकगायनका स्थापित कलाकार हुनुहुन्छ । विष्णु माझी गीत रेकर्डिङमा अझ पनि अगाडि हुनुहुन्छ तर स्टेज सो र अन्य सार्वजनिक कार्यव्रmममा उहाँलाई कहिल्यै देखिन्न । पशुपति शर्मा, बद्री पङ्गेनी, सुनीता दुलाल, टीका पुन, राधिका हमाल, मुना थापामगर, रामजी खाँड, खुमन अधिकारी, मिलन लामा अहिलेका चर्चामा रहेका लोककलाकारमा गनिन्छन् ।