• २८ पुस २०८१, आइतबार

तरलता सहज हुँदै, ब्याजदर अझै घट्ने

blog

काठमाडौँ, जेठ ९ गते । नेपाल बैङ्कर्स सङ्घ (एनबिए) का अध्यक्ष सुनील केसीले ब्याजदर अझै घट्ने बताउनुभएको छ । सङ्घले सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले तरलता सहज हुँदै गएको र ब्याजदर अझै घट्ने बताउनुभयो ।

बैङ्क तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो । 

बैङ्क तथा वित्तीय संस्थाको लागत बढ्दा नाफा पनि घट्दो व्रmममा रहेको भन्दै उहाँले चालु पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने बताउनुभयो ।

पुसमा १०.९१ प्रतिशत पुगेको आधारदर वैशाखमा १०.४८ प्रतिशतमा झरेका कारण माघमा यो वर्षकै उच्च बिन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैङ्कको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको उहाँले बताउनुभयो ।

स्प्रेडदर चार प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्ने भन्दै एनबिएका अध्यक्ष केसीले बैङ्कमा निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता पनि सहज हुँदै गएको बताउनुभयो । 

हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि चार प्रतिशत कायम गर्नुपर्ने भन्दै उहाँले स्प्रेडदर राष्ट्र बैङ्कले निर्धारण गरेको सीमाभित्र राख्न बैङ्कले ब्याजदर थप घटाउने बताउनुभयो । यो वर्ष राष्ट्र बैङ्कले लिएको १३ प्रतिशतको कर्जा विस्तारको लक्ष्य भने पूरा नहुने उहाँको भनाइ थियो ।

एनबीएका पूर्वअध्यक्ष एवं हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुँदै जाने बताउनुभयो । खराब कर्जा बढे पनि नेपालका बैङ्कहरू बलियो अवस्थामा रहेको भन्दै उहाँले आगामी दिनमा सचेत भएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।