• १२ साउन २०८१, शनिबार

मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ : सांसद पाैडेल

blog

काठमाडाैँ, जेठ ८ गते । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ । 

सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउनुभएको हो । त्यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुङ्गाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गर्नुभयो ।

उहाँले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजार पटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताउनुभयो । उहाँले इतिहासलाई सम्मान गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माननीयजीलाई एकपटक 'डिक्सनरी' पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जङ्गलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुङ्गाहरू लडेका थिए ? माननीयजी 'डिक्सनरी' पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरूले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत् शान्ति सम्झौता ? तपाईँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ?’

उहाँले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा ल्याएकाले पारित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम पारित हुने बताउनुभयो ।