• १६ चैत २०८०, शुक्रबार

एनआरटीमाथि मच्छिन्द्रको सहज जित

blog

मच्छिन्द्रका खेलाडी ।

काठमाडौं, जेठ ७ गते । साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) माथि सहज जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई २-० गोलले हरायो ।

मच्छिन्द्रको जितमा आफिज ओलावाले र सौरभ लिम्बुले गोल गर्नुभयो । ओलावालेले ३१औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रको उत्साह जगाउनुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा सौरभले गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । जितसँगै मच्छिन्द्रले २० खेलबाट ३४ अङ्क बनाएको छ । पराजित एनआरटीको समान खेलबाट २३ अङ्क पुगेको छ । 

यस्तै दशरथ रङ्गशालामा भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा मनाङ १० खेलाडीमा समेटिएको एपीएफसँग बराबरीमा रोकिएको हो ।

मनाङका लागि कोफी कुडोले १३औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गर्नुभयो । विपक्षीलाई डिबक्सभित्र फल हालेपछि एपीएफका विश्वास सुन्दास रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो । सोही गल्तीमा मनाङले पेनाल्टी पाएको थियो । 

अर्को गोल सुमित श्रेष्ठले २६औँ मिनेटमा गर्नुभयो । एपीएफका  नवीन लामाले २०औँ र अर्मान्ड बिडोमले ६४औँ मिनेटमा गोल गर्नुभयो । बराबरीसँगै मनाङले २० खेलबाट २४ अङ्क बनाएको छ । एपीएफको समान खेलबाट २३ अङ्क छ ।