काठमाडाैँ, जेठ ७ गते । विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी वैशाख ३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीद्वारा प्रकाशित विज्ञप्तिमा ''छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशङ्कित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ'' उल्लेख गरिएको छ ।
कोरोना सङ्क्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धराशायी हुने महासङ्घको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध छ भन्दै महासङ्घद्वारा छापामाध्यमको हितविरुद्ध हुने यस्ता निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

 
                                
                             
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                