• ११ वैशाख २०८१, मङ्गलबार

अन्नपूर्णको काखमा सुन्दर हिमताल (फोटो फिचर)

blog

पञ्चकुण्ड ताल ।

ठाकुरप्रसाद आचार्य / साधन घर्ति

म्याग्दी, जेठ ७ गते । वरिपरि सुन्दर हिमाल र निलो तालको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको काखमा यो ताल रहेको छ । नारच्याङस्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । 

अन्नपूर्ण नर्थ बेसक्याम्पस्थित चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयहरूले पञ्चकुण्ड भनेर नामाकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्त्व छ । 

तालको लम्बाई करिब एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान छ । तालमा अन्नपूर्ण हिमालको छाया देख्न सकिन्छ । तालदेखि माथि चारहजार एकसय ९० मिटरको उचाइमा अन्नपूर्ण आधार शिविर  छ । तालबाट निलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ । 

नारच्याङदेखि दुई घण्टा सवारीसाधनको यात्रा पश्चात् मौरिस हर्गोज पदमार्गको करिब ७ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आधार शिविरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आगामी दिनमा पालिकाले पर्यटन प्रवर्द्धनमूलक योजनाहरू बनाउने बताउनुभयो । 

तालको प्रकृति, धार्मिक र पर्यटकीय महत्त्वलाई उजार गरी पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले प्रचारप्रसार र पदमार्गलाई व्यवस्थित बनाउने योजना अघि सारेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उहाँकै नाममा नामाकरण गरिएको छ ।

नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाइमा वि.स.२०६८ मा पहिचान भएको मौरिज हर्गोज पदमार्गलाई व्यवस्थित बनाउने काम गरिएको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधार शिविर पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको मौरिस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गुरुङले बताउनुभयो । आधार शिविरमा खानेपानी, टेलिफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता भएको उहाँले बताउनुभयो ।