• २७ पुस २०८१, शनिबार

जनप्रतिनिधिको एक वर्षे उपलब्धि सार्वजनिक

blog

उपलब्धि सार्वजनिक कार्यक्रममा सहभागी । तस्विर : रेखीराम राना

रेखीराम राना

पाल्पा, जेठ ७ गते । तानसेन नगरपालिकाका नयाँ जनप्रतिनिधिहरूको एक वर्षीय उपलब्धि सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकामा एक वर्षअघि निर्वाचित हुनुभएका जनप्रतिनिधिको नेतृत्वमा भएका पच्चिस उपलब्धिहरू सार्वजनिक गरिएको हो । 

तानसेन नगरपालिकाले एक वर्षको अवधिमा दैनिक प्रवाह हुने सेवामा सुधार गरेको र पारदर्शिता कायम गरेको जनाएको छ । नगरको स्रोत र साधनलाई व्यवस्थापन गर्दै राजश्व सङ्कलनलाई वृद्धि गरेको, वर्षौँदेखि समस्याका रूपमा रहेको ५७ वटा घरटहरा हटाएको, विद्यार्थी सङ्ख्या कम भएका १४ वटा विद्यालयलाई समायोजन गरेको नगरपालिकाले जनाएको छ । 

यस्तै, श्रीनगर र रानीमहल क्षेत्रमा आफ्नै कर्मचारी खटाएर विगतको तुलनामा चार गुणा बढी राजश्व सङ्कलन गरेको, नदीजन्य पदार्थ चोरी निकासीबाट ४२ लाख बढी राजश्व असुल गरेको नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रेम दिवसमा रानीमहल दरबारलाई ब्रान्डिङ गरेको दाबी प्रमुख श्रेष्ठले गर्नुभयो । 

तानसेनभित्रका समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन तथा सहकारी संस्थालाई विधि र पद्धति ल्याउन काम अगाडि बढाएको, तीन वटा वडा कार्यालयलाई व्यवस्थित बनाएको, आर्थिक गतिविधि चलायमान बनाउन तानसेनका विभिन्न वडामा सडक महोत्सव गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाले विपन्न समुदाय तथा अपाङ्गता भएका, एकल पुरुषका लागिसमेत मासिक भत्ता प्रदान गरेको जनाएको छ । 

एक वर्षका अवधिमा नगरपालिकाले नगरका नागरिकको हितलाई ध्यानमा राखेर काम गरेको उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निर्वाचित भएपछि एक वर्षको अवधिमा नगरवासीको हितमा काम गरेका छौँ । 

तानसेन नगरको पर्यटन विकास, सामाजिक, आर्थिक विकास तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि गरेको उहाँले बताउनुभयो । तानसेन नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि गरेका कामबारे नगरवासीले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।