• ८ वैशाख २०८१, शनिबार

देवता बस्ने सहरको कथा

blog

“साँघुरो गल्लीमा मेरो चोक छ 

यहाँ के छैन सब थोक छ 

असङ्ख्य रोग छ 

अनन्त भोक छ 

असीम शोक छ 

केवल हर्ष छैन

त्यसमाथि रोक छ ।”


प्रस्तुत कवितांश कवि भूपि शेरचनको ‘मेरो चोक’ कविताबाट लिइएको हो । यस कवितामा हामीले देखेको, भोगेको र सुनेको ऊ बेलाको पुरानो सहरको आधुनिक विशेषताको झल्को छ । काठमाडौँ उपत्यका चारैतिर पहाडी थुम्काले घेरिएको प्राचीन सहर हो । 

चारैतिर डाँडाकाँडाले घेरिएको बीचमा आरी जस्तो यो उपत्यकामा पहिले पानी भरिएको थियो भन्ने किंवदन्ती छ । नागदह भनिने यस दहको पानी चोभारको गल्छीबाट बाहिर पठाएर यहाँ बस्ती बसालेको स्वयम्भू पुराणको कथन छ । 

सर्वप्रथम उपत्यकाको घाँसे मैदानमा गाई चराउनका लागि गोपाल वंशका ग्वालाहरू यहाँ पसे । गोकर्ण, थानकोट, साँखु, पशुपति, स्वयम्भू, चाँगुनारायण र गोदावरी हुँदै जति पसे त्यति बसे । पछि भैँसी चराउने महिषपालहरू पनि उपत्यका पसे । सबैले आआफ्नो संस्कृति रचे । बागमती सभ्यतामा सबै अटे । 

आफ्नो समूह र बस्तीको रक्षाका लागि रक्षक बनाइयो । रक्षक राजा भए । भुक्तमानले यस खाल्डोमा पहिलो पटक राजाको उपाधि पाए । गोपाल वंशको शासन सुरु भयो । यो नै नेपालमा शासन व्यवस्थाको पहिलो सूत्रपात थियो । त्यसपछि महिषपालको पालो आयो ।  किराँती राजा यलम्बरले महिषपाललाई जितेर शासन आफ्नो हातमा लिए । ३२ पुस्तासम्म किराँती राजाले शासन गरेको उपत्यकामा भारतको वैशालीबाट नेपाल प्रवेश गरेका लिच्छविहरूले फेरि यिनलाई किनारा लगाएर शासन हातमा लिए । लिच्छवि शासन सबल बन्यो । उनीहरूले काठमाडौँ खाल्डोलाई ललितकलाले झकिझकाउ बनाए । 

समयचव्रmसँगै फेरि नेपालमा मल्लहरूको पालो आयो । लामो समय लगाएर पुनर्निर्माण गरिएको मल्लकालीन कलासंस्कृतिले उपत्यका धपक्क बल्यो । मल्लहरूले आफ्नो शासनकालमा उपत्यकालाई तीन चिरा (भादगाउँ, पाटन र कान्तिपुर) बनाएर थुप्रै राजाहरूले राज्य सञ्चालनको रमिता चाखे । जात्रा, मेला र पर्वको थालनी गरे । 

नागढुङ्गा, थानकोटबाट हेर्दा होस् या साँगा भञ्ज्याङबाट हेर्दा होस्, यो पहाडी बस्ती गजब देखिन्छ । निलो आकाश, चारैतिर हरिया डाँडा र डाँडाको फेदमा रहेको सहर देखेर नलोभिने कोही भएन । शीतल हावापानी, ठाउँठाउँमा देवताका थान, स्वयम्भूनाथको दृष्टि, पशुपतिनाथको सृष्टि, धरहराको केन्द्रबिन्दु र लमतन्न सुतेका बुढानीलकण्ठ देखेर नरमाउने कोही भएन तर यहाँको हरियाली मासेर घर ठडिए । माटो किचेर सिमेन्टमाथि रड रोपियो । उपत्यकाभरि घरैघर बने । 

विसं १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई नेपालकै राजधानी बनाए । शाहकालमा यो पूरै नेपालको केन्द्र बन्यो । जङ्गबहादुर राणाले सूत्रपात गरेको जहानियाँ शासनसम्ममा आइपुग्दा यहाँ ठुल्ठुला दरबार र महल बनाइए । २००७ सालको व्रmान्तिपछि ती ठुला घर महल राज्यका सम्पत्ति बने । पहिलेका दरबार अहिले नेपालको प्रशासनिक भवन बनेका छन् । 

हाम्रा आदिकवि भानुभक्तले काठमाडौँ उपत्यकालाई अमरावती कान्तिपुरी नगरी भनेर कविता रचे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले केवरा फुल्ने त्यो कान्तिपुर नगरी भन्दै मुनामदनमा गीत गाए । हरेक नेपाली एक पटक काठमाडौँ पुगौँ भन्छन् । हुनेखानेलाई यतै बसौँबसौँ लाग्दालाग्दै थपिएका घरले आज काठमाडौँ कुरूप बन्दै गएको छ । विदेशी आए, घरभन्दा मन्दिर धेरै भन्ने लेखेर गए । अनि दुनियाँ काठमाडौँ हेरुँ भन्दै बर्सेनि ओइरिन थाले । 

११२ वर्षअघि नै बिजुली बाल्यौँ तर अहिले बिजुली छ तर बत्ती बल्दैन कि जस्तो हुन थालेको छ । धारा छ तर पानी आउँदैन । सडक छ तर जामले गाडी चल्दैन । धनी र गरिबबिच भड्खालो छ । दुःखी र गरिबलाई कसैले हेर्दैन । कर्मचारी चौरमा घाम तापिरहेछन् । सेवाग्राही झ्यालमा झुण्डिरहेछन् । नुनको नाताले देश चलिरहेछ । फरक यति मात्रै हो चोकचोकमा देवता छन् तर अफसोच उनीहरू हेरिरहन्छन् । 

यहाँ अपनत्वको दम छैन । आफूभन्दा बलिया आए आफैँ थर्कन्छन् शरणमा पर्छन् । हुनेखाने सडकमा फोहोर फाल्छन् । सडकमा हिँड्नेलाई पिसाब फेर्ने ठाउँ छैन । वास्तवमा यो सहर समस्याको घर बनेको छ तर पनि पुतली बत्तीमा होमिएझैँ दुनियाँ सहरतिर आकर्षित छ । बाहिरको घरभन्दा राजधानीको डेरा नै बलियो देख्नु दुःखलाग्दो कुरा हो । आजको मान्छे सहरमा घर बनाएर सुख काट्ने रहरमा छ । यही रहरले सहर घरैघरले भरिँदो छ । सुख–सुविधा र सम्पत्ति खोज्दाखोज्दै फुकाउन नसकिने चव्रmव्यूहको गाँठो परेको छ । सहरमा घर नजिक हुन्छन् तर मन टाढा हुन्छन् । आफूआफूमा मिल्न नसक्नु यो सहरको दुर्भाग्य हो । 

यस्तै सहरमा प्रकृतिको प्रहार पनि निर्दयी छ । भुइँचालो आउँदा थोरै समयका लागि आए पनि असर भने पछिसम्म छाडेर गएको छ । ऐतिहासिक सम्पदाहरू मेरुदण्ड भाँचिने गरी फोहोरको थुप्रोले पुरिएर धेरै समय थला परे । 

उता गाउँमा प्रकृतिको काख रित्तिँदा पनि बाँच्नेलाई सहरको सुर्ता छैन । जे पर्ला सोही टर्ला भन्ने आँट छ तर सहरियाहरूले सोचेर सास फेर्न बाध्य हुनु परेको छ । 

विश्वमा मान्छे नै मान्छे थुप्रिएका थुप्रै सहर छन् । नदी किनारमा हुर्किएका सहरी सभ्यतामा अझै मानिसको घुइँचो देख्न सकिन्छ । सायद सहरको महìव भएरै त होला । रुसको भोल्गा नदीको काखमा ११ वटा ठुला सहर आमाको काखमा दुधे बालक बसे झैँ बसेका छन् । भारतको गङ्गा नदीतटमा अवस्थित साना ठुला सहरमा ३१ करोड मानिस बसोबास गर्छन् । यता उद्गम स्थलदेखि गङ्गाको किनारसम्ममा एक हजार आठ वटा तीर्थस्थलले भरिएको बागमती नदीको भने दुर्दशा लेखी साध्य छैन । 

भन्नलाई नेपाल गाउँ नै गाउँले भरिएको देश भनिए पनि नेपालमा पनि ६२ प्रतिशत जनसङ्ख्या अहिलेको सङ्घीय संरचनाको २९३ वटा नगरपालिकामा बसोबास गर्छन् । कतै भिडले भरिएका सहर छन् । कतै भिडले सहर भरिएका छन् । 

इतिहासको लामो कालखण्ड पार गरेर आज यहाँसम्म आइपुगेको झन्डै ४० लाख मानिसको बसोबास रहेको यो सहरमा सुविधा र सकस बराबरी छन् । सहरमा देखिने कुरा देखिन्छ तर नदेखिने दर्द न लेख्न मिल्छ न त भन्न मिल्छ । पापी पेट पाल्न सहरमा पैसा नभई हुन्न । दिनभरि रङ्गमञ्चमा रौसिनु र रातभरि रुनु सहरको विशेषता हो । 

राजधानी हल्लाको चमत्कार गर्ने सहर हो । ढाकछोपको ढकनी हो । वीर अस्पतालमा उपचार गर्न आएको मान्छेलाई पालो कुर्दाकुर्दै होटेलको भोजनले जन्डिस जन्मिएका थुप्रै घटनाको साक्षी पनि हो यो सहर । यता जात्रा उता जुलुस । यता टुँडिखेलको बारमा झुण्डिएर हेर्ने बेरोजगारहरूको मेला लाग्छ । उता नेता मेट्रो रेलको चमत्कारको भाषण सुनाउँछन् । जनता हल्लाको महायज्ञमा भाग लिइरहेछन् । यसै गरी बढिरहेको छ सहरको कथा !  

Author

पुष्पराज भट्टराई