गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २७ गते । जन्मेदेखि पाँच वर्षसम्म बालकको स्वास्थ्यसम्बन्धी हातेपुस्तक ‘स्वस्थ बालक’ सार्वजिनक भएको छ । बाल स्वास्थ्य सेवामा लामो समयदेखि सक्रिय बाल तथा बाल मुटुरोग विशेषज्ञ डा. नारायणबहादुर बस्नेतद्वारा लिखित पुस्तकमा गर्भाधान भएदेखि पाँच वर्षको उमेरसम्ममा स्वस्थ रहनका लागि हुनुपर्ने आधारभूत जानकारीका साथै उनीहरूको जीवनमा आइपर्ने स्वास्थ्य समस्या तथा रोगको पहिचान गरी प्राथमिक हेरचाहका लागि चाहिने आवश्यक जानकारी रहेको छ ।
चिकित्सा शास्त्रको अविरल अध्ययन, अनुभव, खोज तथा सन्तुलित सोचलाई उपयोग गरेर पुस्तक तयार गरेको डा. बस्नेतले बताउनुभयो । उहाँले पुस्तकमा जन्मदेखि पाँच वर्षसम्मका बालकको स्वास्थ्य हेरचाह र बाल स्वास्थ्यसम्बन्धी सिप, व्यवहार तथा ज्ञान समावेश गरिएको र यो सबै वर्गलाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।