• २७ पुस २०८१, शनिबार

ढिलो छापिँदा थन्किए जनक शिक्षाका पुस्तक

blog

शालिग्राम नेपाल 

चितवन, जेठ ६ गते । जनक शिक्षा सामग्री केन्द्रको भरतपुरमा रहेको बागमती प्रदेश कार्यालयमा अङ्ग्रेजी माध्यमका पुस्तक ढिलो आएपछि बिक्री नभई गोदाममा थन्किएका छन्। 

कक्षा ६ र ७ को अङ्ग्रेजी माध्यमको पुस्तक ढिलो गरी आएपछि बिक्री नभएर गोदाममा थन्किएको जनक शिक्षा सामग्री केन्द्र, बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख तोयनाथ खतिवडाले जानकारी दिनुभयो। “विगतको तुलनामा यो वर्ष पुस्तक चाँडै आएकाले बिक्री बढेको छ। नेपाली माध्यमका पुस्तक समयमै आए पनि अङ्ग्रेजी माध्यमका पुस्तक आउन ढिलो हुँदा गोदाममै थन्किएको हो,” उहाँले भन्नुभयो। जनक शिक्षाका पुस्तक आउन ढिला भएपछि अङ्ग्रेजी माध्यममा पठनपाठन हुने सामुदायिक विद्यालयले अरू प्रकाशकका पुस्तक चलाएको बताइएको छ।  

कक्षा ७ को जम्मा तीन सय सेट मात्रै अङ्ग्रेजी माध्यमको पुस्तक बिक्री भएको कार्यालयले जानकारी दिएको छ। “कक्षा ६ को अङ्ग्रेजी माध्यमको पुस्तक दुई हजार सेट बिक्री भएको छ भने कक्षा ८ देखिमाथि अङ्ग्रेजी माध्यमको पुस्तक नै आएको छैन,” प्रमुख खतिवडाले भन्नुभयो, “ती पुस्तक छापिँदै छ र केही समयपछि आउने जानकारी पाएका छौँ, अब पुस्तक आएर बिक्री हुने अवस्था छैन। अङ्ग्रेजी माध्यमको पुस्तक अब कक्षा ८ देखि माथिको आएमा अर्को वर्ष मात्रै बिक्री हुनेछ,” उहाँले भन्नुभयो। 

जनक शिक्षा सामग्री केन्द्रको भरतपुर कार्यालयले चैत २४ गतेदेखि पुस्तक बिक्री गर्न थालेको थियो। नेपाली माध्यमको पुस्तक समयमै आएको हुनाले यस पटक नेपाली माध्यम चलाएका सामुदायिक विद्यालयले समयमै पुस्तक पाए। नेपाली माध्यमको पुस्तक आएपछि मात्रै अङ्ग्रेजी माध्यमको पुस्तक आउन थालेको हो।

गत वर्ष १६ करोड रुपियाँको ३५ हजार सेट पुस्तक भरतपुरको प्रादेशिक कार्यालयबाट वितरण भएको थियो। यस वर्ष २० करोड रुपियाँको ६० हजार सेटभन्दामाथि पुस्तक बिक्री भएको खतिवडाले जानकारी दिनुभयो। समयमै पुस्तक आएको हुनाले बिक्री रेकर्ड राम्रो भएको उहाँले बताउनुभयो।

यो कार्यालयबाट चितवन, बारा, पर्सा, रौतहट, मकवानपुर, नवलपरासी सुस्तापूर्व र तनहुँको देवघाट, आँबुखैरहनीमा पाठ्यपुस्तक बिक्री भएको छ। 

यस पटक जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्मको पुस्तक छापेको थियो। भरतपुरको कार्यालयबाट पनि कक्षा ६ देखि १० सम्मको पुस्तक बिक्री भएको हो। शिशु कक्षादेखि कक्षा ५ सम्मको पुस्तक छपाइका लागि जनक शिक्षाले निजी क्षेत्रलाई जिम्मा दिएको थियो। 

जनक शिक्षा भरतपुरको कार्यालयबाट दर्ता भएका पुस्तक व्यवसायीले मात्र पुस्तक खरिद गरेका थिए। चितवनसहित सात जिल्लामा दर्ता भएका १७२ पुस्तक पसलले पुस्तक खरिद गरेर लगेको कार्यालयले जानकारी दिएको छ। चितवनमा दर्ता भएका ८५ पुस्तक पसलबाट सामुदायिक विद्यालयले पुस्तक खरिद गरेर विद्यार्थीलाई निःशुल्क वितरण गरेका छन्। समयमै अङ्ग्रेजी माध्यमको पुस्तक नआउँदा अङ्ग्रेजी माध्यम चलाएका सामुदायिक विद्यालयले अन्य पब्लिकेसनको पुस्तक राख्न बाध्य भएका थिए। प्रमुख खतिवडाले भन्नुभयो, “कक्षा ६ र ७ को अङ्ग्रेजी माध्यमको पुस्तक आयो तर ढिलो भयो, जसका कारण अर्को वर्षका लागि थन्केर बसेका छन्।”