नारद कोहार
तौलिहवा, जेठ ५ गते । कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्कीसहित आयोग सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना गरी जिल्लामा मिटरब्याज पीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले आयोग गठनअघि २० र गठनपछि ४४ वटा उजुरी दर्ता भएको बताउनुभयो । उहाँले उजुरीको अध्ययन भइरहेको बताउनुभयो । मिटर ब्याज पीडितहरूलाई उजुरी दिनेबारे सबै सरोकारवालाले पहल गर्नुपर्ने उहाँको भनाइ छ । मिटर ब्याजबाट पीडित भएकाहरूलाई उजुरी दिन सहजतका लागि प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष समेत स्थापना गरिएको छ ।
सो अवसरमा बोल्नुहुँदै आयोगका अध्यक्ष कार्कीले वास्तविक मिटर ब्याज पीडितले निर्धक्क भएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गर्नुभयो । परेको उजुरीका आधारमा अध्ययन अनुसन्धान गरी पीडितहरूलाई न्याय दिने उहाँले बताउनुभयो । उहाँले सरकारले मिटर ब्याज पीडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले मिटर ब्याजबाट पीडित भएकाहरूलाई सरकारले छिट्टै न्याय दिनु पर्ने बताउनुभयो । मिटरब्याजीको चङ्गुलमा पढेलेखेका मानिसहरू समेत पर्ने गरेको पाइएको उहाँले बताउनुभयो । छलफलमा भाग लिँदै भारतका लागि पूर्व राजदूत दीप कुमार उपाध्यायले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताउनुभयो । यस विषयमा राज्य नै कडा रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो। समाज सञ्चालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पछिल्लो समय मिटरब्याजीको हतियारका रूपमा बैङ्क चेक प्रयोग हुने गरेको बताउनुभयो । थोरै पैसा दिएर धेरै पैसाको चेक लिने र पछि लिएको कर्जा तिरिसक्दा पनि कानुनी झमेलामा पर्नुपर्ने बाध्यता देखिएको उहाँले बताउनुभयो । आर्थिक लेनदेनलाई पारदर्शी बनाउने कुरामा वडा कार्यालयहरूलाई दिएको अधिकारलाई प्रभावकारी र यथार्थ परक बनाउने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थाहरूले ऋण्न प्रवाह गर्दा कृषक, विपन्न परिवारलाई सहज ऋणको व्यवस्था गर्नु पर्नेमा जोड दिइएको छ। बाणगगा नगरपालिका कै मिटर ब्याजबाट पीडित सङ्गीता थारु र राम दास थारुले आफूहरूले मिटर ब्याज बाट पीडित भएकाले न्याय दिन अपिल गरेका थिए ।
आयोगले ३० वैशाखसम्मका पीडितलाई निवेदन दिन भनेकोमा सोको अवधि एक साता बढाएर ७ जेठसम्मका लागि म्याद थपेको छ । सोझा सिधा मानिसहरूलाई बाध्यतामा पारी पैसा लिएर उल्टै मुद्दा मामिला गराएर दुःख दिने गरेका घटनासमेत भएको छ । कार्यक्रममा विभिन्न स्थानीय तह, राजनीतिक दल, नागरिक समाज सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।