• २७ पुस २०८१, शनिबार

गर्मी बढेसँगै खानेपानीको हाहाकार

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ ५ गते । कमलामाई नगरपालिका–४, मल्ला गाउँकी तुलसा दाहालको घरको धारामा खानेपानी नआएको दुई साताभन्दा बढी भइसकेको छ । यतिखेर खानेपानीका लागि दैनिक गाग्री बोकेर बिहानभरि गाउँ चहार्नुपर्ने बाध्यता उहाँलाई छ । “गाउँमा जसको घरमा पानी आउँछ, त्यहीँबाट दुई गाग्री खानेपानी ल्याउनु परेको छ । मेरो घरको धारामा त पानी नआएको दुई साताभन्दा बढी भयो । पानी आउँदा पनि धेरै समय आउँदैनथ्यो,” उहाँले भन्नुभयो । यतिखेर गाउँभरि नै खानेपानीको समस्या रहेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका–५ की दुर्गा थापालाई पनि खानेपानीको समस्या तुलसाको भन्दा कम छैन । उहाँलाई पनि हरेक दिनको बिहान खानेपानीको चटारो हुन्छ । आफूले पैसा तिरेर राखेको धारामा खानेपानी नआएपछि छिमेकको घरमा जानु परेको उहाँको गुनासो छ । गर्मी मौसम सुरु भएसँगै खानेपानीको समस्या झेल्नु परेको र आफ्नो घरको धारामा नियमित पानी नआएको एक महिनाभन्दा बढी भएको उहाँले सुनाउनुभयो । धारामा खानेपानी नआए पनि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थालाई भने नियमित शुल्क भने तिर्दै आएको उहाँले बताउनुभयो । 

“कहिलेकाहीँ त-याकतुरुक आउँछ, त्यही पानी भरेर राख्छौँ । नत्र छिमेकीको घरमा जानुको विकल्प छैन, छिमेकीको पनि समस्या मेरो जस्तै छ । जसको घरमा आउँछ, उतै गाग्री बोकेर कुद्नुपर्छ,” उहाँले भन्नुभयो । सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले भने गर्मी मौसम सुरु भएसँगै खानेपानीको मुहान सुक्दै गएपछि समस्या आएको जनाएको छ । सो संस्थाका प्राविधिक जगन्नाथ घिमिरेले भन्नुभयो, “गर्मीले मुहानमा नै खानेपानी सुक्दै आएको छ । आएको खानेपानीलाई दिन बिराएर टोल टोलमा डेढ दुई घण्टाका दरले वितरण गर्दै आएका छौँ ।”

पहिले उपभोक्ताको घरमा दैनिक बिहानभरि खानेपानी आउने गरेकामा अहिले सुक्खा मौसम भएकाले दिन बिराएर पानी वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम सिन्धुलीमाढी बढ्दो सहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न अब दैनिक १० लाख लिटर खानेपानी थपिने गरी योजनाको निर्माण भइरहेको सो संस्थाले जनाएको छ । सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको सहयोगमा दुईवटा नयाँ मुहान थप्न लागेको संस्थाका अध्यक्ष घनश्याम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको १५ प्रतिशत लगानीसहित बागमती प्रदेश सरकारको २१ करोड रुपियाँ लगानीमा बहुवर्षे योजना अन्तर्गत तीन वर्षअघि ती योजना निर्माण सुरु गरिएको हो । कमलामाई नगरपालिका–४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई निर्माण गरिएको ती नयाँ योजनाको काम अहिले ८५ प्रतिशत सम्पन्न भएको छ । उक्त योजना २०७९ चैत मसान्तमा काम सक्नु पर्नेमा धेरै काम बाँकी रहेकाले २०८० पुससम्मका लागि म्याद थप गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । 

अहिले सदरमुकाममा नेपाली सेना, प्रहरी, अन्य सरकारी कार्यालय र उपभोक्ता गरी दैनिक तीन हजार ४२६ घरपरिवारले खानेपानी उपभोग गरिरहेको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । पानी सङ्कलनका लागि छ वटा रिजर्भ ट्याङ्की र दुई वटा लिफ्ट खानेपानी योजना निर्माण गरी सदरमुकामको खानेपानीलाई व्यवस्थित गरिने उक्त संस्थाले जनाएको छ ।

संस्थाका अनुसार हाल कमलामाई नगरपालिका–४ स्थित ग्वाङ खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोला दुईवटा मुहानबाट दैनिक २५ लाख लिटरको हाराहारीमा खानेपानी आपूर्ति गरी सदरमुकाममा वितरण गरिँदै आएको छ । नयाँ योजना सम्पन्न भएपछि अहिले भइरहेको तीन हजार पाँच सय धारामा थप तीन हजार धारा थपिने अनुमान गरिएको छ । अहिले भइरहेको योजनाले खानेपानीको माग धान्न नसकेकाले नयाँ योजना सञ्चालन गर्नु परेको संस्थाका अध्यक्ष देवकोटाको भनाइ छ । गड्यौली खोला मुहानको पानी लिफ्टबाट तानेर उक्त स्थानमा थप एक लाख लिटरको पानी ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट ठुलीटारमा दुई सय घरधुरीलाई खानेपानी वितरण गरिने छ र बाँकी पानी माझीटार हुँदै माढीबजारका उपभोक्तालाई वितरण गर्ने योजना रहेको उक्त संस्थाले जनाएको छ ।