• २७ पुस २०८१, शनिबार

गुणस्तरीय स्वास्थ्य सेवा दिन आग्रह

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न देशभरका अस्पताल स्तरोन्नति गर्न लागेको बताउनुभएको छ । 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ मा ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल’ बिहीबार उद्घाटन गर्दै उहाँले आफ्नै कार्यकालमा स्वास्थ्य मन्त्रालयले परिणाममुखी काम गर्ने र ठूला नेताले उपचारका व्रmममा विदेशमा गएर ठूलो रकम बाहिरिने भएकाले यस्तो परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभयो । 

“गरिब, विपन्नले उपचार नपाएर मर्नुपर्ने अवस्था हुनु हुँदैन, यसको जिम्मा सरकारले लिनुपर्छ । स्वास्थ्य मन्त्रालयमा कुनै पनि बिरामीलाई उपचार खर्च दिन सक्ने कोष छैन । मैले कोषको व्यवस्था गर्न सरकारलाई प्रस्ताव राखेको छु,” मन्त्री बस्नेतले भन्नुभयो । ठोकर्पामा स्वास्थ्य शिविरबाट सुरु भएको अभियानबाट अहिले यो अस्पताल निर्माण भएको हो । स्विडेन नेपाल सोसाइटीको आर्थिक सहयोग तथा बिल्ड अफ नेपालको प्राविधिक सहयोगमा निर्माण सुरु भएको संरचना अन्तर्गत ३५ लाख रुपियाँको लागतमा ब्लक ‘ए’ को पहिलो तला निर्माण सम्पन्न भएको अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो । 

तीन करोड ८३ लाख रुपियाँको लागतमा निर्माणाधीन अस्पतालमा सुनकोशी गाउँपालिका र जिल्ला समन्वय समितिको समेत आर्थिक सहयोग रहेको उहाँले बताउनुभयो । “अस्पतालमा अक्सिजन प्लान्ट जडान छ, हाल दैनिक ४५ सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ,” उहाँले भन्नुभयो । 

अस्पताल सञ्चालन गर्न २०७८ असोज १ गते एक एक पाइला फाउन्डेसनसँग सात वर्षका लागि सम्झौता भएकोमा सम्झौता अनुरूप फाउन्डेसनले दुई करोड ९० लाख रुपियाँ बराबरको उपकरण खरिद गरिदिएको छ । उक्त अस्पतालमा इमर्जेन्सी, ओपिडी, दन्त, आँखा उपचार सेवालगायतका सुविधा उपलब्ध रहेको डा. विनोद रानामगरले जानकारी दिनुभयो । 

अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र तथा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ । बिरामीको आर्थिक अवस्था अनुसार २५ प्रतिशतदेखि पूर्ण रूपमा छुट दिने अध्यक्ष कार्कीले बताउनुभयो ।